कृति विमोचन गरिँदै ।

हेटौंडाः साहित्यकार शान्ति प्रियवन्दनाको पहिलो कविता कृति ‘जिल खाइरहेको एक्काइसौं शताव्दी’ शनिबार हेटौंडामा सार्वजनिक गरिएको छ । सर्जक सञ्जाल मकवानपुरको आयोजनामा कृति विमोचन कार्यक्रम भएको हो । सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिलको अध्यक्षता तथा साहित्यकार कुन्ता शर्माको प्रमुख आतिथ्यमा कविता संग्रह विमोचन गरिएको हो । कार्यक्रमका अतिथिसहित कृतिकार शान्ति प्रियवन्दनासहित उहाँकी आमा मैना सुवेदी र छोरा दृष्टान्तले एकसाथ कृति विमोचन गरेका थिए ।

कृति विमोचन कार्यक्रममा सहभागीहरु ।

२०५४ सालदेखि नै कविता लेख्नु भएकी प्रियवन्दनाले २५ वर्षपछि पहिलो कृति तयार पार्नुभएको हो । कार्यक्रममा कृतिकारका बारेमा साहित्यकार सुवास खनालले जानकारी गराउनुभएको थियो भने कृतिमाथि डा. विन्दु शर्मा र प्राध्यापक घनश्याम घिमिरेले समीक्षा गर्नुभएको थियो । आफ्नो साहित्य जीवनका बारेमा संक्षिप्त कुरा राख्नुहुँदै कृतिकार शान्तिप्रियले कविता संग्रहमा समावेश रहेको ‘जवाफ पाउँ शरदार’ शीर्षकको कविता वाचन गर्नुभयो ।

‘जिल खाइरहेको एक्काइसौं शताब्दी’ कविता संग्रहमा समावेश गरिएका तीन वटा कविता भावना सापकोटा, मायामितु न्यौपाने र रेनुका जिसीले वाचन गर्नुभएको थियो । कार्यक्रमकी प्रमुख अतिथि कुन्ता शर्माले कवितामा महिलाका कथा रहेको उल्लेख गर्नुहुँदै महिला सशक्तीकरणमा उल्लेख्य प्रगति भएको पनि बताउनुभएको छ ।

बुबाले अध्ययन गर्नुभएका पुस्तक अध्ययन गरेर कविता लेखनमा रुचि बढेको स्मरण गर्नुहुँदै कृति विमोचनको समारोहमा भावुक हुँदै प्रियबन्दनाले स्वर्गीय हुनुभएका आफ्ना बुबा र छोरा दृष्टान्तका बुबालाई सम्झिरहेको बताउनुभयो । शान्तिको कृति रत्न पुस्तक भण्डार काठमाडौंले प्रकाशन गरेको हो । कविता संग्रहमा ३५ वटा कविता समेटिएको छ ।