हेटौंडाः नेकपा एमाले मकवानपुरको जिल्ला अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज शनिबार निर्वाचन हुँदैछ । जिल्ला अध्यक्षको आकांक्षीको रुपमा एकलाल श्रेष्ठ र बद्री लम्साल चुनावी मैदानमा उत्रिएका छन् । दुबै जनाले प्यानलसहित मैदानमा उत्रिने पक्का गर्दै आन्तरिक तयारी सुरु गरेका छन् ।
शुक्रबार राती २ बजे उम्मेदवारहरुको प्रारम्भिक मतदाता नामावली प्रकाशन भएपछि दुबै जनाले चुनावमा बलियो दाबेदारी प्रस्तुत गर्ने भएका छन् । बिशेष स्रोतको अनुसार दुबै समुहले आ–आफ्नो प्यानलका लागि पदाधिकारीका उम्मेदवारहरु निर्धारण गरेका छन् । बद्री लम्सालको प्यानलबाट उपाध्यक्षमा लाल बहादुर थापा, सचिवमा नवीन सिग्देल र उपसचिवहरुमा हिदम लामा र सीता विष्ट निर्वाचनमा अघि सर्ने जनाइएको छ ।
यसैगरी एकलाल श्रेष्ठको प्यानलबाट उपाध्यक्षमा गोपाल श्रेष्ठ, सचिवमा सुनिल मोक्तान र उपसचिवहरुमा मदन दहाल र पार्वती राना अगाडी बढ्ने निश्चित भएको अध्यक्षका उम्मेदवार एकलाल श्रेष्ठले पुष्टि गर्नुभएको छ । निर्वाचन नै हुने भएपछि लम्साल समुहले प्यानल बनाउन सुरु गरेपछि आफ्नो दाबेदारीलाई पनि बलियो बनाउन आफ्नो प्यानल निर्माण गरिएको उहाँले बताउनुभयो । यद्यपी सदस्यहरुको भने कुनै प्यानल नभएर स्वतस्फूर्त रुपमा चुनावमा होमिएका छन् ।
शुक्रबार राती प्रकाशित उम्मेदवारको नामावलीका अनुसार १०५ सदस्यीय जिल्ला कमिटीका लागि पदाधिकारीसहित २०० जनाको उम्मेदवारी परेको छ । जसमा पदाधिकारीमा मात्र १५ जनाको उम्मेदवारी रहेको छ । २ जनाको अध्यक्षमा दाबेदारी रहँदा ४ जनाको लागि उपाध्यक्ष पदमा उम्मेदवारी परेको थियो । तर प्यानल निर्माण हुने भएपछि विष्णु प्रसाद ढकालले लम्साल प्यानलका लाल बहादुर थापालाई सघाउने गरी उपाध्यक्ष पदबाट पछाडी हट्दै खुल्ला तर्फको सदस्य पदमा मात्र उम्मेदवारी कायम गर्नुभएको जानकारी प्राप्त भएको छ ।
यस्तै फुर्वा दोर्जे लामाले पनि श्रेष्ठ प्यानलका गोपाल श्रेष्ठलाई सघाउने गरी उपाध्यक्ष पदबाट पछाडी हटेर खुल्ला तर्फको सदस्य पदमा मात्र आफ्नो उम्मेदवारी रहने बताउनुभएको छ । यसैगरी महिला तर्फको उपसचिवमा उम्मेदवारी दिनुभएका रमिला सापकोटा, जुना दहाल र सुमित्रा काफ्ले पराजुलीले श्रेष्ठ प्यानलकै पार्वती रानालाई सघाउने गरी महिलातर्फको सदस्यमा मात्र उम्मेदवारी कायम रहने जानकारी दिएका छन् । चुनावी प्रक्रिया भएपनि पछाडी नहट्ने अडान लिदैँ आउनुभएकी सापकोटाले एक्लाएक्लै चुनावमा उठ्ने कुरा भइरहँदा एकतर्फबाट प्यानल बन्न थालेपछि आफुहरुले पनि एकलाल श्रेष्ठको प्यानललाई सघाउने गरी पार्टीको लागि पछाडी हटेको बताउनुभएको छ ।