हेटौंडाः एमाले मकवानपुरको जिल्ला अधिवेशनमा जिल्ला कमिटी सदस्यका लागि ५ वटा गाउँपालिकाबाट सर्वसम्मत सदस्य चयन भएका छन् । पार्टीले जारी गरेको सर्कुलर अनुसार राक्सिराङ, बागमती, मकवानपुरगढी, भीमफेदी र इन्द्रसरोवर गाउँपालिकामा महिला तथा खुला गरि तोकिएका सदस्यहरुले मात्र उम्मेदवारी दर्ता गराएपछि भूगोल अन्तर्गत ५ पालिकाबाट जिल्ला सदस्य चयन निर्विरोध निर्वाचित भएका हुन् ।
राक्सिराङ गाउँपालिकाबाट ४ खुला र १ महिला सदस्यमा क्रमशः बाबुराम स्याङ्तान, मान बहादुर वाइबा, सञ्जय कोइराला, सिंगलाल चेपाङ र सुन्तली माया प्रजा चयन भएका छन् । बागमती गाउँपालिकाबाट पनि ४ खुला र १ महिला सदस्यमा क्रमशः कमल राई, जय बहादुर वाइबा, मंगल रखाल, मदन कुमार दुरुङच्याङ र धनमाया स्याङ्तान निर्विरोध भएका छन् । मकवानपुरगढी गाउँपालिकाबाट ३ खुला सदस्यमा मेम्बर लो, बिदुर हुमागाई र हरि प्रसाद कडेल सर्वसम्मत हुँदा १ महिला सदस्यमा रमिला तामाङ निर्विरोध भएकी हुन् ।
यसैगरी भूगोल अन्तर्गत नै भीमफेदी गाउँपालिकाबाट पनि ४ खुला र १ महिला सदस्यमा क्रमशः जहार सिंह लामा, द्रोण भद्र पुडासैनी, प्रकाश पुडासैनी, सुरेन्द्र बहादुर थिके र पञ्चमाया स्याङतान तथा इन्द्रसरोवर गाउँपालिकाबाट २ खुला र १ महिलातर्फ ऋषिराम पुडासैनी, बुद्धिराम डिम्डुङ र रेशम कुमारी घिसिङलाई पनि सर्वसम्मत रुपमा जिल्ला सदस्य चयन गरिएको छ ।
यस्तै भूगोल अन्तर्गत नै हेटौंडा उपमहानगरपालिकाबाट ४ महिला सदस्यमा ५ जनाले उम्मेदवारी दिएपनि सुमित्रा चौलागाई पाण्डेले आपसी छलफल गर्दै उम्मेदवारी फिर्ता लिएपछि महिला सदस्यहरु सर्वसम्मत भएका छन् । हेटौंडाबाट महिला सदस्यहरुमा दुर्गा नेपाल, विना वाइबा थिङ, रेखा खतिवडा र सरस्वती दाहाल चयन भएका हुन् । ६ खुला सदस्यका लागि भने २० जनाले उम्मेदवारी दिएका छन् ।
यस्तै थाहा नगरपालिकाबाट २ महिला सदस्यमा कल्पना बलामी र सुनिता दोङ सर्वसम्मत भएका छन् । थाहाबाट ४ खुला सदस्यका लागि भने ८ जनाले उम्मेलवारी दर्ता गराएका छन् । यसैगरी कैलाश र मनहरी गाउँपालिकाबाट पनि १÷१ महिला सदस्यमा सर्वसम्मत भएका छन् । महिला सदस्यमा कैलाशबाट सुकुमाया थिङ र मनहरीबाट बिमला कार्की निर्बिरोध निर्वाचित भएका हुन् । ४÷४ जनाको खुला सदस्यमा कैलाश र मनहरीबाट क्रमशः ६ र ८ जनाको उम्मेदवारी परेको छ ।
जिल्ला अधिवेशन अन्तर्गत नै मजदुरतर्फको ४ खुला सदस्यमा अर्जुन ढुङ्गेल, धर्म बस्नेत, बिक्रम लामा र लालकृष्ण प्याकुरेल तथा महिला सदस्यमा गीता कार्की पुर्ण सर्वसम्मत नै चयन भएका छन् । जनजाति, अल्पसंख्यक, मुस्लिम तथा अपाङ्गता तर्फको २ महिला सदस्यमा जानकी चौधरी र प्रतिमा श्रेष्ठ सर्वसम्मत हुँदा ४ खुला सदस्य १२ जनाले उम्मेदवारी दिएका छन् । पेशागततर्फ १ खुला सदस्यमा ३ जनाको उम्मेदवारी पर्दा १ महिला सदस्यमा सुशिला गजुरेल सर्वसम्मत निर्वाचित भएकी हुन् ।
योसँगै एमाले मकवानपुरको ३३ जिल्ला कमिटी सदस्य निश्चित भइसक्दा ५ पदाधिकारीसहित ७२ जनाको लागि १६६ आकांक्षीबिच मतदान हुने भएको छ । जसमा १२ जना भने पदाधिकारीमा उठेकाले स्वत सदस्य पदको उम्मेदवार पनि रहने गरी दोहोरिएका छन् । चुनाव हुनेमा ५ पदाधिकारीका लागि १२ जनाबिच रोचक प्रतिस्पर्धा हुने देखिन्छ । १६ खुला सदस्य पदमा ५२ जनाबिच र १४ महिला खुला सदस्य पदमा २२ जनाबिच मतदान हुने भएको छ ।
यस्तै भूगोल अन्तर्गत खुला सदस्यमा मात्र सहमती हुन नसकेको थाहा, कैलाश, मनहरी र हेटौंडा तथा ४ खुला र २ महिला सदस्यका लागि क्रमशः ६ र ३ उम्मेदवारी दर्ता भएको बकैया गाउँपालिका रहेको छ । जसमा भूगोलतर्फ कुल २४ सदस्यका लागि छुट्टाछुट्टै गरेर ५१ जनाबिच मतदान हुने देखिएको छ । यसैगरी जनजाति, अल्पसंख्यक, मुस्लिम तथा अपाङ्गतातर्फ ४ जनाको लागि १२ जनाबिच, दलित सदस्य २ खुला र १ महिला गरी क्रमशः ४ जना र २ जना गरी ६ जनाबिच, पेशागत १ खुला सदस्यका लागि ३ जनाबिच गरी कुल ८ सदस्यका लागि २१ जनाबिच चुनाव हुनेछ ।
यसबाहेक एमाले मकवानपुरको जिल्ला लेखा कमिटीमा पनि संयोजक पदमा ३ जनाको उम्मेदवारी परेको छ । यस्तै लेखा कमिटी सदस्यमा संयोजकका उम्मेदवार ३ जनासहित ७ जनाको उम्मेदवारी रहेको छ । क्विक ट्वान्टी पार्टी प्यालेसमा हुने मतदान कार्यक्रममा ८०२ जिल्ला अधिवेशन प्रतिनिधीले मतदान गर्ने जनाइएको छ ।