बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले ५ वटा प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ । दुर्घटनामा परेका बिरामीहरुको तत्काल उपचारमा सहयोग पुग्नेगरी स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले मकवानपुरको मनहरी, धादिङको गजुरी, काभ्रेको पाँचखाल, सिन्धुपाल्चोकको मेलम्ची र रामेछापको मन्थली प्राथमिक स्वास्थ्य केन्द्रलाई उपकरण हस्तान्तरण गरेको हो । प्राथमिक स्वास्थ्य केन्द्रलाई प्यासेन्ट मोनिटर, अक्सिजन कन्सन्ट्रेटर, इसीजी मेशिन, ह्वील चियर, बेड, स्ट्रेचर, अक्सिमिटरलगायतका उपकरण हस्तान्तरण गरिएको छ । दुर्घटनाका जोखिम क्षेत्र नजिकका स्वास्थ्य केन्द्रहरुलाई उपकरण हस्तान्तरण भएका छन् । दुर्घटनाबाट घाइते भएकाहरुको जीवन रक्षाका लागि सामग्री उपयोगी हुनेछन् । घाइतेहरुलाई समयमै उद्दार र प्राथमिक उपचार गर्न सहयोगी सामग्री प्रदान गरेको छ ।
बागमती प्रदेशमा रहेका १३ जिल्लाका सबै स्वास्थ्य केन्द्र स्वास्थ्य उपकरणबाट सुसज्जित हुनुपर्ने हो । तर प्रदेश सरकारले ५ वटालाई केही उपकरण प्रदान गरेको छ । यही सहयोग पनि ठूलो लगानीजस्तो सरकारको ठहर छ । जम्मा पचास लाखका सामग्री हस्तान्तरण गर्दा जनताप्रति सरकार निकै गम्भीर छ भन्ने सन्देश दिन खोजिएको छ । राज्यका लागि सबै क्षेत्रका नागरिक समान हुन् । किन पाँच वटालाई मात्र भन्ने प्रश्न उठ्न सक्छ । स्वास्थ्य संस्थाहरुलाई उपकरण र प्रविधिमैत्री बनाउने जिम्मेवारी राज्यको हो । संवैधानिक अधिकार अनुसार सबै नेपालीले निःशुल्क उपचार पाउनु पर्दछ । एकै पटक सम्भव नभएमा कुनै क्षेत्र, वर्ग वा समुदायका लागि निःशुल्क उपचारको कार्यक्रम ल्याएको भए स्वतः प्रचारयोग्य हुनेछ ।
प्रदेश सरकारकै औचित्यमाथि प्रश्न उठ्दै गएको अवस्थामा केही भूमिका देखाउने क्रममा उपकरण वितरण भएको छ । तर प्रदेशभरमा दुर्घटनाका जोखिमयुक्त क्षेत्र पाँचवटा मात्रै हुन् त ? कम्तिमा पनि प्रत्येक जिल्लाको प्रतिनिधित्व हुने गरी १३ वटा केन्द्रलाई सहयोग गरेको भए अझै राम्रो हुनेथियो । सहयोग पाउने स्वास्थ्य केन्द्र कसरी छनौटमा परे भन्ने प्रश्न छ । पहुँचका आधारमा केन्द्रहरुमा उपकरण दिइएको त हैन ? आशंका नहुने गरी काम गर्न विश्वसनीयता र पुष्ट्याईँ हुन आवश्यक छ । सबै जिल्लाका एक–एक केन्द्रमा सहयोग गरेको थियो भने औचित्य पुष्टि हुने थियो । तर पनि सुरुवात भएको छ । प्रदेशभित्रका सबै स्वास्थ्य केन्द्रहरुले सबै प्रकारका उपकरण पाउने आश गर्नु पर्दछ ।
नागरिकको स्वास्थ्य जिम्मेवारी राज्यको हो । तर नेपाली स्वास्थ्य क्षेत्र कति दयनीय छ भन्ने कुरा नेपाली नेताहरुले गर्ने अविश्वासले नै पुष्टि गरेको छ । राजनीतिक नेतृत्वलाई सामान्य बिसन्चो हुँदा नेपाली स्वास्थ्य केन्द्र, अस्पताल, चिकित्सकप्रति रत्तिभर विश्वास छैन । उनीहरु राज्यको ढुकुटी खर्च गर्दै विदेश जाने गरेका छन् । तर सर्वसाधारणका लागि स्वास्थ्य चौकीहरुमा स्वास्थ्य सामग्री त परकै कुरा, प्राथमिक उपचारसमेत छैन । प्राथमिक उपचारका लागि राज्यले दिने सामान्य उपकरण हाम्रा लागि ठूलो महत्वको विषय बन्ने गरेको छ । केही थान उपकरण हस्तान्तरणलाई सरकारले ठूलो उपलब्धि मान्नुपर्ने अवस्था छ । प्रदेश सरकारले आफ्नो अस्तित्व देखाउनै भए पनि सबै स्वास्थ्य केन्द्र, अस्पतालहरुमा आवश्यक उपकरण व्यवस्थापन गर्न सक्नुपर्दछ ।