फेसबुकमार्फत हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले बुधबार बिहान जारी गरेको विद्यालय बन्द हुने सूचना ।

हेटौंडाः हिउँदे वर्षाका कारण आज बुधबार हेटौंडा उपमहानगरपालिका र मकवानपुरगढी गाउँपालिकाका विद्यालयहरु बन्द हुने भएका छन् । मंगलबार रातीदेखिको लगातारको वर्षासँगै चिसो बढेकोले बालबालिकालाई विद्यालय आउन–जान तथा चिसोका कारण समस्या हुन सक्ने भएकोले विद्यालय बन्द गर्ने निर्णय गरिएको हेटौंडा उपमहानगरपालिकाको शिक्षा महाशाखाका प्रमुख गंगाधर रिमालले जानकारी दिनुभयो ।

यस्तै मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले पनि वर्षा र चिसोका कारण विद्यालय बन्द गर्ने निर्णय गरेको जनाएको छ । गाउँपालिका अध्यक्ष विदुर हुमागाईसँग सल्लाह गरेर विद्यालय बन्द गर्नें निर्णय गरिएको मकवानपुरगढी गाउँपालिकाका शिक्षा शाखा प्रमुख राम घलानले जानकारी दिनुभयो । स्थानीय सरकारको निर्णयसँगै विद्यालयका प्रधानाध्यापकहरुले पनि सामाजिक सञ्जालमार्फत विद्यालय बन्द हुने सूचना जारी गरेका छन् ।