हेटौंडाः समानुपातिक विज्ञापन वितरण गर्न उद्योग संघ मकवानपुर र मकवानपुर उद्योग वाणिज्य संघका पदाधिकारीसँग नेपाल पत्रकार महासंघ मकवानपुरले सोमबार छलफल गरेको छ । पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम नेतृत्वको महासंघका पदाधिकारी तथा सदस्य सम्मिलित टोलीले प्रदेश राजधानी हेटौंडामा अवस्थित राष्ट्रिय–अन्तर्राष्ट्रिय उद्योगले ठुला सञ्चार गृहलाई मात्रै विज्ञापन दिने र स्थानीय मिडियालाई विज्ञापन दिन हिच्किचाउने प्रवृत्तिको अन्त्य गरी सवैलाई समानुपातिक ढंगबाट विज्ञापन वितरण गरिनुपर्ने माग गरेको छ ।

छलफलमा उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेलले उद्योगहरु पनि मिडियामैत्री हुन चाहेको बताउनुभयो । त्यसका लागि पत्रकारबाट सदैब सकारात्मक समाचारको अपेक्षा उद्योग संघले गरेको उहाँले बताउनुभयो । अध्यक्ष पोखरेलले उद्योगले उत्पादन गरेका बस्तुको समाचार प्रकाशन÷प्रसारण गरिदिन आग्रह गर्नुभयो । कुनै उद्योगको अनुगमन तथा बन्द गर्ने भन्ने विषयमा मात्र केन्द्रित भएर समाचार संकलन गर्दै हिड्नुभन्दा नयाँ उद्योग खुलेको र उद्योगले उत्पादन गरेका बस्तुहरुबारे पनि समाचार संकलन गरिदिन अध्यक्ष पोखरेलले आग्रह गर्नुभएको छ । संघका वरिष्ठ उपाध्यक्ष स्वागतराज प्याकुरेलले नकारात्मक समाचारको मात्रै चर्चा–परिचर्चा भैरहँदा त्यसले मझौला उद्योगहरुलाई समेत प्रभाव पारिरहेको बताउनुभयो । उहाँले औद्योगिक क्षेत्रभित्रका सकारात्मक समाचारलाई बढीभन्दा बढी प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

सोमबार नै पत्रकार महासंघले मकवानपुर उद्योग वाणिज्य संघलाई स्थानीय मिडियालाई उत्थान गर्न विज्ञापन दिन तदारुकता देखाउन आग्रह गरेको छ । छलफलमा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवालले केहि समयदेखि मिडिया र संघबीच मिडियामैत्री वातावरणमा कमी देखिएको बताउनुभयो । पछिल्लो समय अनलाइन मिडिया व्यापक भैदिँदा एउटालाई दिने र अर्कोलाई नदिने भन्ने विवाद चर्किदा विज्ञापनमा खासै जोड्न नसकिएको अध्यक्ष अग्रवालको भनाइ छ ।