हेटौंडाः बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले गुणस्तरीय शिक्षासँगै मुलुकको आमूल परिवर्तन सम्भव भएको बताउनुभएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेन (प्याव्सन) मकवानपुरको शनिबार सम्पन्न साधारणसभालाई सम्बोधन गर्नुहुँदै सभामुख श्रेष्ठले शिक्षा ऐन सामुदायिक र निजी दुवैखाले विद्यालयको हितमा हुने गरी निर्माण हुनुपर्ने बताउनुभयो । बुद्ध भगवानका नीति र नियमलाई कसैले लागू नगरेको उल्लेख गर्नुहुँदै सभामुख श्रेष्ठले शिक्षक, विद्यार्थी र विद्यालय सञ्चालकको समेत गलत आचरणमा सुधार हुनुपर्ने बताउनुभयो ।

वैज्ञानिक र प्राविधिक शिक्षालाई प्राथमिकता दिनुपर्नेमा सभामुख श्रेष्ठले जोड दिनुभएको छ । संविधान, अर्थशास्त्र र नैतिकता बुझ्नुपर्ने बताउनुहुँदै श्रेष्ठले शिक्षाको नीति निर्माण तथा व्यवस्थापनमा सवैले ध्यान दिन आवश्यक भएको बताउनुभयो । प्याब्सन मकवानपुरले वार्षिक साधारणसभाको अवसरमा प्याव्सनका संस्थापक, शिक्षक, कर्मचारी र पत्रकारलाई सम्मान गरेको छ ।

प्याब्सन मकवानपुरका संस्थापकहरू आशिष श्रेष्ठ, मदनकुमार दाहाल, केशवलाल श्रेष्ठ, गणेशकुमार श्रेष्ठ, विष्णुप्रसाद अधिकारी, बद्री पुडासैनी र मातृकाप्रसाद ढुंगानालाई सम्मान गरिएको छ । संस्थागत विद्यालयका शिक्षकहरू शशीकला घिमिरे, निर्मल पराजुली, तारा खड्का कार्की, सरोज यादव र सरस्वती पौडेल तथा कर्मचारीहरू डम्बर बहादुर रजान मगर र जगन्नाथ ढुंगानालाई सम्मान गरेको प्याब्सन मकवानपुरले पत्रकार अशोकसुजन श्रेष्ठ, सम्झना रिजाल र श्रृजना नेपाललाई पनि सम्मान गरेको छ ।

कार्यक्रममा प्याब्सन केन्द्रीय समितिका सल्लाहकार आशिष श्रेष्ठ, सह–कोषाध्यक्ष ग्रेस श्रेष्ठ, केन्द्रीय सदस्य मदनकुमार दाहाल, बागमति प्रदेश समितिका अध्यक्ष थकिन गुरुङ, हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ का अध्यक्ष अर्जुन चौलागाईं, संस्थागत विद्यालय अभिभावक संघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटा, नेपाल विद्यार्थी संघ मकवानपुरका अध्यक्ष राजु खतिवडा, ७ नम्बर वडा अध्यक्ष राजन थापाको पनि आतिथ्य रहेको थियो ।