आर्थिक अभावमा उपचार गर्न नपाएकी हेटौंडा–३, लेवटकी ८ वर्षीया सजिना थिङ ।

हेटौंडाः हेटौंडा–३, लेवटकी ८ वर्षीया सजिना थिङको उपचारका लागि सहयोगको अपील गरिएको छ । परिवारको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको हो । शारीरिक अवस्था असामान्य भएकी सजिनाको आँखामा समेत समस्या देखिएको छ ।

सविना उठ्न, बोल्न केहि पनि गर्न सक्दिनन् । उनको टाउको सामान्य बालबालिकाको भन्दा धेरै ठूलो छ । उमेर अनुसार शरीरिक विकास राम्रोसँग भएको छैन । ६ महिनाको हुँदा बच्चाको स्वास्थ्य स्थिति सामान्य नरहेको थाहा पाएको उनका बुबा कान्छाराम थिङले जानकारी दिनुभयो । हेटौंडा अस्पताल, भरतपुर अस्पताल हुँदै कान्ति बाल अस्पतालसम्म पुगेर उपचार गर्दा आफूसँग भएको २ लाख रुपैयाँ भन्दा बढी पैसा खर्च हुँदा पनि स्वास्थ्य अवस्था सामान्य हुन नसकेको थिङको भनाइ छ ।

थप उपचार गर्न पैसा नभएर सजिनालाई घरमै लिएर आएको थिङ बताउनुहुन्छ । कान्ति बाल अस्पतालका चिकित्सकले शल्यक्रिया गरी उपचार गर्न ६ लाख रुपैयाँ खर्च लाग्ने जानकारी दिएको थिङको भनाइ छ । आँखामा समस्या आएपछि सजिनालाई लिएर थिङ सोमबार आँखा अस्पताल आउनुभएको थियो । आँखाको थप उपचारका लागि पनि सजिनालाई काठमाडौं लैजानुपर्ने अवस्था रहेको हेटौंडा सामुदायिक आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत सुधीर श्रेष्ठले जानकारी दिनुभएको छ ।