रक्तदान गर्दै रक्तदाता ।

हेटौंडाः हेटौंडा–७, नागस्वतीस्थित हेटौंडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा भएको रक्तदान कार्यक्रममा २९ जनाले रक्तदान गरेका छन् । संस्थाको २३ औं स्थापना दिवसको अवसरमा हेटौंडा–७ नागस्वतीमा रक्तदान कार्यक्रम भएको हो ।

रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा १० जना महिलासहित २९ जनाले रक्तदान गरेका छन् । सहकारीले स्थापना दिवसको अवसरमा आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत छैठौं कार्यक्रमका रुपमा रक्तदान कार्यक्रम आयोजना गरिएको संस्थाका सञ्चार विभाग प्रमुख तथा कमाने सेवा केन्द्र प्रमुख सुशील सुवेदीले जानकारी दिनुभयो ।

पुस ७ गतेबाट सुरु भएको सप्ताहव्यापी कार्यक्रममा ७ गते ज्येष्ठ शेयर सदस्य सम्मान, ८ गते दम्पती शेयर सदस्य सम्मान, ९ गते मानव सेवा आश्रममा भोजन सहयोग, १० गते बाल बचतकर्ता सदस्यहरुका लागि हाजिरीजवाफ प्रतियोगिता, ११ गते सहकारीका संचालक समिति तथा कर्मचारीहरुका लागि अन्तरक्रिया कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।

भोलि मंगलबार सातौं कार्यक्रमका रुपमा दीपावलीसहित मिठाई वितरण कार्यक्रम गर्दै सप्ताहव्यापी कार्यक्रमको समापन हुने जनाइएको छ । संस्थाको २२ औं वार्षिक साधारण सभा यही पुस १७ गते शनिबार हुँदैछ ।