फाइल तस्बिरः हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको दशौं नगर परिषद्को बैठक आगामी पुस १५ गते हुने भएको छ । नगरपरिषद् बैठकको तयारी तिब्ररुपमा भइरहेको उपमहानगरपालिकाले जनाएको छ ।

अन्तिम नगर परिषद्को बैठकसमेत रहेकाले बैठकमा हालसम्म भएका कामहरुको बारेमा समीक्षा गरिने हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले जानकारी दिनुभएको छ । बैठकमा खासै एजेण्डाहरु प्रस्तुत नहुने र पालिकाको योजनाहरुका बारेमा हालसम्म पनि कार्यान्वयन हुन नसकेका योजनाहरुलाई के गर्ने भन्ने विषयमा छलफल हुने पनि उहाँले बताउनुभयो ।

नगर परिषद् बैठकको तयारीका लागि पुस १३ गते कार्यपालिकाको बोर्ड बैठक पनि बस्ने भएको छ । १३ गते कार्यपालिकाको बैठक बसेर नगरपरिषद्को बैठकमा प्रस्तुत गर्ने विषय तथा एजेण्डाहरुको बारेमा निर्णय गरिने प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंले बताउनुभएको छ ।