हेटौंडाः बागमती प्रदेश सरकारमा भागवण्डाकै लागि ६ मन्त्रालय र मन्त्री थपिएका छन् । मन्त्रालय थपिएर मन्त्री नियुक्त भए पनि मन्त्रालयमा कार्यक्रम र बजेट भने छैन । सरकारमा सहभागी गठबन्धनका लागि बागमती प्रदेशमा ८ मन्त्रालयलाई टुक्र्याएर १४ पुर्‍याइएको छ । एकै मन्त्रालयलाई तीन टुक्रा बनाइएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अहिले तीन मन्त्रालयमा विभाजन भएको छ । संस्कृति तथा पर्यटन मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र वन तथा वातावरण मन्त्रालय बनाइएको छ ।

मुख्यमन्त्रीले मन्त्रालय फुटाइएसँगै कर्मचारीले भने अहिले सवै मन्त्रालयलाई बजेट तथा कार्यक्रम फुटाउन व्यस्त छन् । एउटा मन्त्रालय फुटाएर तीन वटा मन्त्रालय बनाएसँगै एउटा मन्त्रालयको बजेट तथा कार्यक्रम तीनवटै मन्त्रालयका लागि बाँडफाँड गरिँदैछ । तीनवटै मन्त्रालयको मन्त्रीको पदबहाली भएसँगै अहिले सम्बन्धित योजना मन्त्रालयगत बाँडफाँड गर्न अभ्यास भइरहेको मन्त्रालयका सचिव यज्ञनाथ दाहालले बताउनुभयो । उहाँका अनुसार एक मन्त्रालय हुँदा आएको बजेट नै बाँडफाँड हुने छ । थप बजेट आउनेबारे मन्त्रिपरिषद्को बैठकले निर्णय गर्ने उहाँले बताउनुभयो ।

मन्त्रीसँगै बजेट तथा कार्यक्रम बाँडफाँट गरिए पनि मन्त्रालयमा आवश्यक कर्मचारी भने छैनन् । कर्मचारीको व्यवस्थापन गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण गरिसकेको सचिव दाहालले जानकारी दिनुभयो । यसका लागि दुई समिति छन् । समितिबाट पास भएपछि मन्त्रिपरिषद् बैठकमा पठाइनेछ । त्यसपछि प्रदेश सरकारले निर्णय लिनेछ । अबको केही दिनमै मन्त्रालयगत बजेट विनियोजन हुने उहाँको भनाइ छ । कार्यान्वयनमा गइसकेको कार्यक्रमका विषयमा भने केही जटिलता आउन सक्ने भन्दै थप छलफल भइरहेको सचिव दाहालले बताउनुभयो । हालसम्म तीनवटै मन्त्रालयको सचिवको जिम्मेवारी सम्हाल्दै आउनुभएका दाहालले सचिवहरु मन्त्रालयमा आउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

यस्तै, यसअघि बागमती प्रदेशको तत्कालीन मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सामाजिक विकास मन्त्रालयलाई फुटाएर स्वास्थ्य मन्त्रालय छुट्टै बनाउनुभएको थियो । हालका मुख्यमन्त्री राजेन्द्र पाण्डेले सामाजिक विकास मन्त्रालाई टुक्र्याएर श्रम, रोजगार तथा यातायात मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयमा विभाजन गर्नुभयो । यसअघि टुक्रिएको स्वास्थ्य मन्त्रालयलाई योजना तथा बजेट विनियोजन गरेको सामाजिक विकास मन्त्रालयले युवा तथा खेलकुद मन्त्रालय र श्रम, रोजगार तथा यातायात मन्त्रालयलाई पनि बजेट तथा योजना विनियोजन गर्न आवश्यक तयारी गरिरहको मन्त्रालयका प्रवक्ता रुद्रहरि भण्डारीले जानकारी दिनुभयो ।

५४ जना कर्मचारी भएको सामाजिक विकास मन्त्रालय टुक्रिएर स्वास्थ्य मन्त्रालय थपिएसँगै कर्मचारी संख्या घटेको थियो । सम्बन्धित मन्त्रालयको महाशाखाहरु श्रम, रोजगार र युवा तथा खेलकुद महाशाखा नहुने भएपछि मन्त्रालयमा कर्मचारी अझै घट्ने प्रवक्ता भण्डारीले बताउनुभयो । थपिएका मन्त्रालयलाई आवश्यक कर्मचारी भएका मध्येबाटै मिलाउन भनिएको उहाँको भनाई छ ।

हेबी मन्त्रालयमा कांग्रेस

बागमती प्रदेशको ठूलो बजेट हिस्सा भएको भौतिक पूर्वाधार विकास मन्त्रालय नेपाली कांग्रेसको भागमा परेको छ । कांग्रेस बागमती प्रदेशको दलका उपनेतासमेत रहनुभएका कृष्णलाल भँडेल भौतिक पूर्वाधार विकास मन्त्री हुनुहुन्छ भने राज्यमन्त्रीमा मकवानपुरका सन्तबहादुर प्रजा हुनुहुन्छ । एउटा पार्टीको मन्त्री र राज्यमन्त्री एकै मन्त्रालयमा राखेर काम सहजरुपमा अघि बढाउने उद्देश्य देखिन्छ ।

बागमती प्रदेशमा १४ जना फुल मन्त्री र ४ जना राज्यमन्त्री भएसँगै मन्त्रिपरिषद् बैठक भने बसेको छैन । बागमती प्रदेशमा अहिले १०९ सांसद छन् । जसमध्ये २६ जना मन्त्री र ८ जना राज्यमन्त्री भएका छन् । झण्डै सांसद संख्याको ३० प्रतिशत मन्त्री बनिसकेका छन् । अझै बागमती प्रदेशमा सरकार परिवर्तन हुने संकेत देखिएको छ । आउँदो जेठमा प्रदेशको नेतृत्व परिवर्तन हुने दलका नेताहरु बताउँछन् ।