ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिने घोषणा भएको दिन नेपालका लागि ऐतिहासिक मानिन्छ । समाजको मार्गदर्शक व्यक्तित्व, प्रेरणाको स्रोत र गौरवको प्रतीक ज्येष्ठ नागरिकको जीवन सहज बनाउने जिम्मेवारी परिवारका अतिरिक्त राज्यको पनि हो । जीवनको उत्तराद्र्धमा पुगेकाहरुलाई सम्मान गर्दै पालनपोषण र संरक्षणको उचित व्यवस्थापन गर्नु सवैको कर्तव्य हुन्छ । उपलब्ध स्रोत तथा साधनको अधिकतम सदुपयोग गरी ज्येष्ठ नागरिकलाई सुखी, सम्मानित एवम् सुरक्षित बनाउनु आजको चुनौती छ । समाजले अग्रजलाई बिर्सने र आफूमात्रै भौतिक सुख, सुविधाको खोजीमा दौडँदा ज्येष्ठ नागरिक अपहेलित हुन पुगेका छन् । सरकारले ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरेको छ । तर त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

ज्येष्ठ नागरिक स्वास्थ्योपचार सेवा कार्यक्रम कार्यान्वयन निर्देशिकाअनुसार ६५ वर्षमाथिका नेपालीलाई ज्येष्ठ नागरिक भनिएको छ । जनगणना २०६८ अनुसार देशमा यो उमेरका मानिसहरुको संख्या करिब १५ लाख छ । त्यसमध्ये १७ प्रतिशतभन्दा बढीको अवस्था कष्टपूर्ण छ । यो उमेरका मानिसलाई पारिवारिक न्यानोपन आवश्यक हुन्छ । तर नेपाली समाजको वास्तविकता फरक छ । तथ्यगत विवरणभन्दा व्यवहारमा फरक हुने गरेको छ । सबै ज्येष्ठ नागरिकले आफूले घरमा दुःख भोग्दै गरेको तथ्य सार्वजनिक गर्दैनन् । आफ्ना सन्तान वा परिवारको इज्जतका लागि पनि आफूले भोग्दै आएको कष्टलाई लुकाउने गरेको पाइन्छ । त्यसलै पनि कष्टपूर्ण जीवन निर्वाह गर्ने ज्येष्ठ नागरिकको प्रतिशत अझै बढी हुनसक्छ ।

स्वास्थ्य हेरचाह, आवश्यक वातावरण, स्वस्थ जीवनशैली, असल संस्कार, प्रभावकारी नैतिक शिक्षामा घर, परिवार, समाज तथा राष्ट्रले ध्यान दिनुपर्छ । आधुनिक प्रविधिको विकाससँगै मानिसहरुमा परम्परागत मूल्य मान्यता भत्काउने प्रयास भएका छन् । प्रविधिको उपयोग जीवन सुखी बनाउन हुन पर्दछ । तर वृद्धहरुले यो विधिको उपयोग गर्न नजान्दा वा नसक्दा आधुनिक समाजको नाममा वृद्धवृद्धाहरुलाई घरपरिवार तथा सन्तानबाट टाडा राख्ने पद्दतिको विकास भएको छ । त्यसैले समाजमा वृद्धाश्रमहरु सञ्चालनमा ल्याउन थालिएको छ । राज्य वा अन्य सामाजिक संस्थाबाट सञ्चालन भएका यस्ता आश्रमले जेष्ठ नागरिकका लागि भौतिक सुख दिए पनि मानसिक दुःखमात्रै दिएका हुन्छन् । जेजस्तो भए पनि जोसुकैलाई आफ्नै सन्तानको माया आवश्यक हुन्छ ।

आधुनिक जीवनशैलीका नाममा एकल परिवारको चाहना गर्नेहरु बढ्दै गएका छन् । यो चिन्तनले दीर्घरुप लिए आफू पनि वृद्धावस्थामा एक्लो जीवनमा पुगिन्छ भन्ने अनुभूति आजको युवाले गर्नुपर्दछ । विदेशी सभ्यताको नाममा भित्रिएका पद्दति नेपाली परिवेशविपरित छन् । यस्तै बसाइँसराई, कमजोर आर्थिक अवस्था, सचेतनाको कमी, नैतिकताको अभाव जस्ता कारणले आज आफ्नै घरका अग्रज एक्लो जीवन जीउन बाध्य भएको छ । अग्रजलाई परिवारले नै पालनपोषण गर्नुपर्ने बाध्यकारी कानुनी व्यवस्था आवश्यक छ । बाध्यताले सँगै बस्नु परे पनि व्यवहार फरक गरेमा दण्डको भागी हुने हो भने बल्ल ज्येष्ठ नागरिक सम्मानित हुन सक्छन् । आदर्शका लागि बोल्नुभन्दा सवैले आफ्नै घरबाट जेष्ठ नागरिकलाई उचित हेरचाह सुरु गरौं ।