नियमित सन्ध्यामा अतिथिका साथ अनिल र स्वस्तिका ।

हेटौंडाः युवा पुस्ताका नवसर्जकलाई प्रेरित गर्ने गरी साहित्य संगम मकवानपुरले शनिबार अनिल कोइराला र स्वस्तिका दाहालको संयुक्त कविता वाचन कार्यक्रम आयोजना गरेको छ । ३१४ औं नियमित सन्ध्यासँगै अनिल र स्वस्तिकाको संयुक्त रचना वाचन कार्यक्रम आयोजना गरेको हो । अनिलले गद्य, स्वस्तिकाको छन्द कविता प्रस्तुत गर्नुभयो । अनिलले ‘मृत परदेशीको आवाज’, प्यासी कुवा र ‘मान्छे नामको जिनिस’ शीर्षकका कविता वाचन गर्नुभयो भने स्वस्तिकाले वेदना, सार्थक भावना र धर्ती छ हृदय शीर्षकका कविता वाचन गरिएको थियो ।

रचना वाचन गर्दै स्वस्तिका ।

अनिल र स्वस्तिकाको प्रस्तुतीमा नेपाली भाषाका शिक्षक एवम् झरना साहित्यिक परिवार मकवानपुरका उपाध्यक्ष विश्वनाथ सञ्जेलले टिप्पणी गर्नुभएको थियो । सञ्जेलले कवितामा शब्द मात्रै नभई भाव हुनुपर्ने बताउनुभयो । साहित्यिक कार्यक्रम हुँदा अनिल जस्ता साहित्यकारलाई खोजेर मञ्च उपलब्ध गराउनुपर्ने प्रतिभावान व्यक्ति भएको सञ्जेलले बताउनुभयो । वैदेशिक रोजगारीको सिलसिलामा मृत शरीर बाकसमा फर्किनुपर्ने, घरमा आमा, श्रीमती, छोराछोरीबाट विछोडका क्षणलाई अनिलले कवितामा प्रस्तुत गर्नुभएको थियो ।

यस्तै, प्यासी कुवा शीर्षकमा मान्छे बलात्कारी र भ्रष्टाचारी भएर बाँच्छ भन्ने अभिव्यक्ति दिनुभएका अनिलले मानव नै मानवताविहीन रसमवेदनाहिन बन्दै गएको बताउनुभयो । ‘मान्छे नामको जिनिस’ शिर्षकमा लोभ, शोक र भोकले ग्रस्त भएको समस्यालाई वर्गीय विभेद तथा त्रास नै त्रासले बाँच्नुपर्ने विषय समेटिएको थियो ।

रचना वाचन गर्दै अनिल ।

‘स्वस्तिकाले वेदना’, ‘सार्थक भावना’ र ‘धर्ती छ हृदय’ शिर्षकमा कविता वाचन गर्नुभएको थियो । स्वस्तिकाको कवितामाथि टिप्पणी गर्नुहुँदै विश्वनाथ सञ्जेल भन्नुहुन्छ, ‘स्वस्तिका ३ वर्षदेखि बैकयामा रहेर झरना साहित्यिक परिवार मार्फत कलम चलाउँदै आएकी छिन् ।’ कविताको लय मिलेको भएपनि वर्णमा त्रुटि रहेको सञ्जेलको भनाइ थियो । कविता सरल तथा शब्दमा भाव हुनुपर्ने उहाँको भनाइ छ । अनिल र स्वस्तिकाको कविता मानवतानिहित रहेको सञ्जेलले बताउनुभयो ।

नियमित सन्ध्यालाई विशेष बनाउनका लागि पनि साहित्यकार विशेष कार्यक्रमको अयोजना गरिएको हो । नियमित सन्ध्यामा रचना वाचन गर्नेमध्ये उत्कृष्ट एकजनालाई पुरस्कृत समेत गरिएको छ । शनिबारको नियमित सन्ध्यामा उत्कृष्ट रचना प्रस्तुत गरेको भन्दै पहिलो पटक सानुभाई विश्वकर्मालाई डायरीसहित पुरस्कृत गरिएको छ । कार्यक्रम साहित्य संगम मकवानपुरका अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षता तथा साहित्यकार तुल्सी घिमिरेको प्रमुख आतिथ्यमा भएको हो । कार्यक्रममा साहित्य संगम मकवानपुरका पूर्वअध्यक्ष एवम् बुढ्यौली साहित्य समाजका संयोजक आरसी रिजालको पनि उपस्थिति रहेको थियो ।