सहकारीका ज्येष्ठ सेयर सदस्य हेटौंडा-१२ की ८५ वर्षीया टीका कुमारी अर्याललाई सम्मान गरिँदै ।

हेटौंडाः ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा प्रतिमा श्रेष्ठ चयन हुनुभएको छ । शनिबार भएको संस्थाको २२ औं वार्षिक साधारण सभाले यसअघि सचिवको जिम्मेवारीमा रहनुभएकी प्रतिमा श्रेष्ठलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

सहकारीको सचिवमा बालकृष्ण न्यौपाने, कोषाध्यक्षमा राजेन्द्र प्रसाद पुडासैनी र सदस्यमा ज्योति काफ्ले चयन हुनु भएको छ । निवर्तमान कोषाध्यक्ष राजेन्द्र मैनालीले राजिनामा दिनुभएपछि उहाँको स्थानमा कार्यसमिति सदस्यमा रहनुभएका पुडासैनीलाई कोषाध्यक्षको जिम्मेवारी दिएको हो ।

प्रतिमा श्रेष्ठ

संस्थाले साधारण सभामा ११ जना सेयर सदस्यहरुलाई सम्मान गरेको छ । जेष्ठ सदस्य २ जना, नियमित तथा असल बचतकर्ता ४ जना, असल ऋणी ४ जना र उत्कृष्ट बाल बचतकर्ता १ जनालाई सम्मानपत्र गरिएको छ । यस्तै मकवानपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यसमिति र नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष निर्वाचित हुनुभएकी रश्मि बस्नेतलाई पनि स्वागत तथा सम्मान गरिएको छ ।

सहकारीले गत आ.व. २०७७/०७८ मा १४ करोड २१ लाख ३१ हजार रुपैयाँको कारोबार गरेको अध्यक्ष राजु अधिकारीले जानकारी दिनुभएको छ । उहाँका अनुसार सहकारीमा १ हजार ३ सय ७१ जना पुरुष र ८ सय महिला गरी २ हजार १ सय ७१ जना सेयर सदस्य छन् भने २ करोड ३ लाख ३५ हजार रुपैयाँ सेयर पुँजी रहेको छ । सहकारीका अध्यक्ष राजु अधिकारीको सभाध्यक्षतामा भएको साधारण सभामा बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मुक्तानको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा बागमती प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटा, हेटौंडा–१२ का वडा अध्यक्ष ललित घलान, मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरी न्यौपाने, राष्ट्रिय सहकारी बैंकका मकवानपुर शाखा प्रबन्धक रामेश्वर अर्याल, मकवानपुर कुखुरा व्यवसायी संघका अध्यक्ष गोकुलनाथ पौडेल, मकवानपुर घरजग्गा व्यवसायी संघका अध्यक्ष ध्रुव घिमिरेको पनि उपस्थिति रहेको थियो ।