हेटौंडाः हेटौंडाका पिप्ले युवा क्लबको अध्यक्षमा दोस्रो कार्यकालका लागि पुनः सुशील घिमिरे चयन हुनुभएको छ । शनिबार क्लबको १५ वार्षिक साधारणसभाले सर्वसम्मत रुपमा घिमिरेलाई पुनः अध्यक्षको जिम्मेवारी दिएको हो । साधारणसभाले उपाध्यक्षमा भरतकुमार सैजु, सचिवमा दिपेन्द्र ढकाल, कोषाध्यक्षमा सुदिप सापकोटा, सह–सचिवमा सुदिप सिंह ठकुरीलाई चयन गरेको छ ।
क्लबको कार्यसमिति सदस्यमा रवि थापा, रणबहादुर खनाल, विवेक अर्याल, भुपेन्द्र चौलागाई, लालकिरण ढुंगेल, अनुज कार्की, सजिता श्रेष्ठ पौडेल, कल्पना राय र नरेन्द्र मोक्तानलाई सर्वसम्मत चयन गरेको छ । हेटौंडा–५ का वडाध्यक्ष राजेश बानियाँको प्रमुख आतिथ्यमा भएको साधारणसभामा वडा सदस्यहरु केशव श्रेष्ठ, सरस्वती दाहाल, ज्ञान बहादुर थापाको पनि उपस्थिति रहेको थियो ।
हेटौंडा–५ मा निर्माणाधिन क्याम्पा रंगशाला परिसरमा भएको साधारणसभामा क्लबका अध्यक्ष सुशील घिमिरेले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । क्लबको प्रतिवेदन प्रस्तुत गर्नुहुँदै अध्यक्ष घिमिरेले क्याम्पा रंगशाला निर्माण पूरा गरेर राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने लक्ष्य रहेको बताउनुभयो । यस्तै क्लबका कोषाध्यक्ष सुदीप सापकोटाले आय व्यव विवरण प्रस्तुत गर्नुभयो । स्थानीय सरकार तथा विभिन्न व्यक्ति, संघ, संस्थाको सहयोगमा क्याम्पा रंगशाला निर्माण गर्दै गरेको क्लबको एक करोड २० लाख ५६ हजार रुपैयाँको आयव्यय विवरण कोषाध्यक्ष सापकोटाले प्रस्तुत गर्नुभयो ।
क्लबका निवर्तमान अध्यक्ष समेत रहनुभएका वडा अध्यक्ष राजेश बानियाँले पिप्ले युवा क्लबले सराहनीय कार्य गरेको उल्लेख गर्नुभयो । वडा अध्यक्ष बानियाँले क्लबका योजनामा वडा कार्यालयले सदैव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुहुँदै उपमहानगरपालिकाबाट पनि क्लबलाई सदैव सहयोग भइरहेको बताउनुभयो । क्लबका सचिव दिपेन्द्र ढकालले छिट्टै क्लबले हेटौंडा उपमहानगरपालिकासँगको साझेदारीमा उमेर समूहको एकेडेमी सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी दिनुभएको छ । साधारणसभामा पिप्ले युवा क्लबलाई स्थानीय रितेश ठाकुर र ज्ञान बहादुर थापाले समान १०–१० हजार रुपैयाँ सहयोग गर्नुभएको हो । पिप्ले युवा क्लबको अगुवाईमा निर्माणाधिन क्याम्पा रंगशाला निर्माणका लागि सहयोग गरिएको हो ।