सामुदायिक आँखा केन्द्रको उद्घाटन कार्यक्रममा सहभागीहरु ।

हेटौंडाः मकवानपुरको बागमती गाउँपालिका र हेटौंडा सामुदायिक आँखा अस्पतालको सहकार्यमा बागमती गाउँपालिकाको झुरझुरेमा सामुदायिक आँखा केन्द्र उद्घाटन गरिएको छ । बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान र तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख संचालन अधिकृत पिताम्बर अधिकारीले संयुक्त रुपमा शुक्रबार सामुदायिक आँखा केन्द्र उद्घाटन गर्नु भएको हो ।

सामुदायिक आँखा केन्द्रमा गाउँपालिकाका अध्यक्ष सर्केश घलानको आँखा परीक्षण गरिँदै ।

केन्द्रमा शुक्रबारदेखि नै आँखा जाँच कार्यक्रम शुरु भएको छ । उद्घाटन कार्यक्रममा अध्यक्ष घलानले आँखाका बिरामीहरुलाई हेटौंडासम्म जानुपर्ने बाध्यता हटाउन घर आँगनमा नै सहज उपचार गर्न आँखा केन्द्र संचालनमा ल्याइएको बताउनुभयो । उहाँले समयानुसार केन्द्रको सेवा विस्तारमा सहयोग गर्दै जाने बताउनु भयो । नेपाल आँखा कार्यक्रमका कार्यकारिणी सदस्य सिद्धिलाल श्रेष्ठले बागमती गाउँपालिकामा हेटौंडा सामुदायिक आँखा अस्पताल स्थापना हुनपूर्वदेखि नै आँखा सेवा पुर्‍याउँदै आएकोमा अहिले व्यवस्थित रुपमा गर्न पाएको खुशी व्यक्त गर्नु भयो ।

केन्द्रमा आँखाजाँच, चश्मा जाँच, औषधि सेवा, सामान्य शल्यक्रिया र नियमति आँखा शिविरहरुको पनि कार्यक्रम रहेको हेटौंडा सामुदायिक आँखा अस्पतालले जानाएको छ । बागमती गाउँपालिकाले आँखा केन्द्र स्थापनाका लागि भवनको व्यवस्थापन गरेको छ भने तिलगंगा आँखा प्रतिष्ठानले १७ लाख रुपैयाँ बराबरको उपकरण केन्द्रमा राखेको छ । यस्तै बागमती गाउँपालिकाले आँखा केन्द्रमा रहने एकजना नेत्र सहायक र एकजना सहयोगी कर्मचारीको मासिक तलब खर्चवापत करिब ६० हजार रुपैयाँ खर्च व्यहोर्नेछ । उद्घाटनको दिन ५० जनाले सेवा लिएको आँखा केन्द्रमा दैनिक औसत २० जनाले सेवा लिने छन् ।