हेटौंडाः नागस्वती भेट्रान्स हेटौंडा–७ ले बगरभाई खलक ए पोखराबिरुद्ध फराकिलो जीत हात पार्दै हेटौंडामा जारी भेट्रान्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान पक्का गरेको छ । आज शुक्रबार बिहान भएको क्वाटरफाइनलतर्फको अन्तिम खेलमा नागस्वतीले बगर भाईलाई ७–२ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

हेटौंडा भेट्रान्स क्लबको आयोजनामा हेटौंडा–५ स्थित क्याम्पा रंगशालामा जारी सातौं हेटौंडा भेट्रान्सकप ८ ए साइड रनिङशिल्ड फुटबल प्रतियोगितामा नागस्वतीलाई सेमिफाइनलमा प्रवेश गराउनका लागि निमा लामाले ह्याट्रिकसहित ४ गोल गरे । उनले खेलको दोस्रो, १३औं, १७ औं र २३औं मिनेटमा गोल गरेका थिए । खेलको ८औं मिनेटमा विजय श्रेष्ठले गोल गरेका थिए भने खेलको २१ औं ४९औं मिनेटमा नरेन लामाले २ गोल गर्न सफल भएका थिए ।

बगरभाईको तर्फबाट खेलको २२औं मिनेटमा वीरबहादुर गुरुङ र २९औं मिनेटमा अमित गुरुङले १/१ गोल गरेपनि टिमलाई हारबाट जोगाउन सकेनन् । खेलको म्यान अफ दि म्याच ह्याट्रिककर्ता निमा लामा घोषित भए । नागस्वतीले आज नै हुने सेमिफाइनलको दोस्रो खेलमा जोरपाटी भेट्रान्ससँगको भेट पक्का गरेको छ । आज नै १ बजे हुने सेमिफाइनलको पहिलो खेलमा एबीसी भेट्रान्स पोखरा र बानेश्वर भेट्रान्स फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।