शिविरमा उपचारका लागि आएकाको आँखा परीक्षण गरिँदै ।

हेटौंडाः रोटरी क्लब अफ हेटौंडाले तीन स्थानमा आँखा शिविरको आयोजना गर्दैछ । क्लबले शुक्रबार रौतहट जिल्लाको वृन्दावन नगरपालिकाको १ नम्बर वडामा आँखा शिविर सञ्चालन गरिरहेको छ भने शनिबार मकवानपुरको मनहरी गाउँपालिका–१, मकरीस्थित बालजीवन ज्योति मावि र मनहरी–३, हाँडीखोलास्थित महेन्द्रज्योति माविमा आँखा शिविर आयोजना गर्दैछ ।

निशूल्क आँखा शिविरमा आँखा परीक्षणका लागि आएका सर्वसाधारण ।

हेटौंडा सामुदायिक आँखा अस्पतालसँगको सहकार्य तथा रोटरी क्लब अफ तास्मानिया अष्ट्रेलियाको सहयोगमा आँखा शिविर आयोजना गर्न लागेको हो । रोटरी क्लबले हरेक वर्ष आँखा शिविरको आयोजना गर्दै आएको छ । २०५१ सालदेखि हरेक वर्ष निशूल्क आँखा शिविरको आयोजना गर्दै आएको पनि गत वर्ष भने कोभिड–१९ महामारीका कारण शिविरको आयोजना गर्न नसकेको रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष रामप्रसाद शर्माले जानकारी दिनुभएको छ ।

आँखा शिविरमा मोतियाविन्दु भएका विरामीलाई हेटौंडास्थित सामुदायिक आँखा अस्पतालसम्म ल्याएर उपचार गरेर घरसम्म पुर्‍याइदिने व्यवस्था समेत मिलाइएको अध्यक्ष शर्माले बताउनुभयो । यो वर्ष तीन स्थानबाट एक सयभन्दा बढी संख्यामा मोतियाविन्दुका विरामीको शल्यक्रिया गराउने लक्ष्य रहेको उहाँले बताउनुभयो । तीन स्थानमा शिविर आयोजनाका लागि करिब १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको अध्यक्ष शर्माको भनाइ छ ।