विद्यार्थीलाई स्वीटर वितरणपछि स्वीटर लगाएका विद्यार्थीसँग तस्वीर खिचाउँदै सहयोगीसहित विद्यालयका शिक्षक ।

हेटौंडाः जन्मदिनको अवसरमा हेटौंडा–१२ का एक विद्यालयका ४२ जना विद्यार्थीलाई न्यानो कपडा स्विटर उपहारस्वरुप प्रदान गरिएको छ । नेकपा एमाले हेटौंडा १२ नं. वडा कमिटीका उपाध्यक्ष तथा समाजसेवी विष्णु नगरकोटीले बिहीबार आफ्नो जन्मदिनमा विद्यार्थीलाई स्विटर उपहारस्वरुप प्रदान गर्नुभएको हो ।

नगरकोटीको ३९ औं जन्मदिनको अवसरमा हेटौंडा–१२ सिग्रेनीस्थित प्रतिभा आधारभूत विद्यालयमा अध्ययनरत आर्थिक अवस्था निकै नै कमजोर भएका ४२ जना विद्यार्थीलाई स्विटर सहयोग गरिएको विद्यालय सहायक प्रधानाध्यपक राजेश नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यार्थीहरुलाई कुल २५ हजार रुपैयाँ मूल्य बराबरको स्विटर प्रदान गरिएको छ ।

केही दिन यता चिसो बढ्दै गएपनि विद्यार्थीहरु सर्टमात्रै लगाएर विद्यालय आएको देखेपछि नगरकोटीले सहयोग गर्न प्रेरित हुनुभएको हो । कक्षा ८ सम्म अध्यापन हुने विद्यालयमा २ सय ५० जना विद्यार्थी अध्ययनरत छन् ।