म्यान अफ दि म्याच एबीसी भेट्रान्सका विजय गुरुङलाई ट्रफी प्रदान गर्दै मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामा ।

हेटौंडाः भेट्रान्स कप फुटबलमा एबीसी भेट्रान्स पोखरा र जोरपाटी भेट्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ । हेटौंडा–५ स्थित क्याम्पा रंगशालामा जारी सातौं हेटौंडा भेट्रान्सकप ‘८ ए’ साइड राष्ट्रिय रनिङशिल्ड फुटबल प्रतियोगिता अन्तर्गत बिहिबार भएको क्वाटरफाइनल तर्फको खेलहरुमा जीत हात पार्दै दुबै टिमले सेमिफाइनलको यात्रा सुनिश्चित गरेका हुन् ।

हेटौंडा भेट्रान्स क्लबको आयोजनामा बिहिबार भएको पहिलो खेलमा चितवन राष्ट्रिय भेट्रान्स क्लबलाई ५–० को फराकिलो गोलअन्तरले पराजित गर्दै एबीसी भेट्रान्सले सानदार जीत हात पारेको छ । उक्त खेलको म्यान अफ दि म्याच २ गोल गर्न सफल एबीसी भेट्रान्सका विजय गुरुङ भए । यस्तै दोस्रो खेलमा बिहानी फरेष्ट्री भेट्रान्स हेटौंडालाई ३–१ गोलअन्तरले पराजित गर्दै जोरपाटी भेट्रान्स पनि सेमिफाइनलमा छिरेको छ । खेलका म्यान अफ दि म्याच जोरपाटीका गोलरक्षक सुनिल लामा घोषित भए ।

यस्तै बिहिबार नै भएको तेस्रो खेलमा नागस्वती भेट्रान्स हेटौंडा–७ ले बालिङ भेट्रान्स स्याङ्जाबिरुद्ध १–० को कठिन जीत हात पार्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । खेलका म्यान अफ दि म्याच नागस्वतीका मिलन राई भए । प्रतियोगितामा शुक्रबार क्वाटरफाइनलतर्फ बाँकी रहेको १ खेल र सेमिफाइनलका २ खेल हुनेछन् । क्वाटरफाइनलतर्फ नागस्वतीले बगरभाई खलक ए पोखराको सामना गर्नेछ भने उक्त खेलको विजेताले सेमिफाइनलको दोस्रो खेलमा जोरपाटी भेट्रान्ससँग प्रतिस्पर्धा गर्नेछ । यस्तै पहिलो सेमिफाइनलमा एबीसी भेट्रान्स र बानेश्वर भेट्रान्सबिच खेल हुने आयोजकले जनाएको छ ।