हेटौंडाः मिचाहा प्रजातिका वनस्पति र प्राणीले पारिस्थितिक प्रणालीमा पारेको प्रभाव सम्बन्धमा छलफल गर्न विश्वविद्यालय तहमा वन विज्ञान विषय अध्ययनरत विद्यार्थीहरुको सहभागितामा नमूना संसदको अभ्यासको आयोजना गरिएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत हेटौंडास्थित वन संकायमा अध्ययनरत विद्यार्थीको सहभागितामा बिहीबार नमूना संसदको अभ्यास गरिएको हो ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयले टोनी हेगन फाउण्डेशनसँगको सहकार्यमा नमूना संसदको अभ्यास गराएको हो । नमूना संसद सञ्चालनका लागि बागमती प्रदेश सभाको सचिवालयले पनि सहजीकरण गरेको छ । नेपालमा विभिन्न १६८ मिहाचा प्रजातिले पारिस्थितिक प्रणालीमा गम्भीर असर गरिरहे पनि सरकारले ती प्रजातिको प्रभाव न्यूनीकरण गर्न आवश्यक नीति तथा कार्यक्रम सञ्चालन गर्न नसकेको सन्दर्भमा विद्यार्थीको नमूना अभ्यासले नीति निर्माणमा सरकारलाई दवाव पुग्ने अपेक्षा गरिएको टोनी हेगन फाउण्डेशनको नेपाल प्रमुख प्राध्यापक डा. प्रमोद कुमार झाले बताउनुभएको छ ।
नमूना संसद अभ्यास कार्यक्रमको उद्घाटन कार्यक्रममा मानवशास्त्री टोनी हेगनकी छोरी कट्रिन हेगन, कृषि तथा वन विज्ञान संकायका डीन प्राध्यापक डा. बलराम भट्ट, बागमती प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काको पनि उपस्थिति रहेको थियो । नमूना संसदको अभ्यासपछि मिचाहा प्रजातिको नियन्त्रणका लागि रणनीति तय गरिने र त्यस्तो रणनीति सरकारलाई बुझाइने बताइएको छ ।