उपाधिको साथमा थाहा नगरपालिकाको फुटबल टिम र पदाधिकारी ।

हेटौंडाः पुनरागमन बराबरीका साथै सडेनडेथमा जीत हात पार्दै थाहा नगरपालिकाले अन्तरपालिका जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधी चुम्न सफल भएको छ । जिल्ला समन्वय समिति मकवानपुरद्वारा आयोजित प्रतियोगिताको फाइनल खेलमा हेटौंडा उपमहानगरपालिकालाई सडेनडेथमा २–१ गोलअन्तरले पराजित गर्दै थाहाले उपाधी जितेको हो ।

निर्धारित ८० मिनेटको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । ट्राइब्रेकरमा पनि ५–५ गोलको बराबरी भएको थियो । उपाधीसँगै थाहाले २ लाख रुपैयाँ प्राप्त गरेको छ भने उपबिजेता बनेको हेटौंडाले १ लाख रुपैयाँमा चित्त बुझाएको छ । प्रतियोगिताअन्तर्गत सर्बोत्कृष्ट खेलाडी हेटौंडाका फत्तेमान घले घोषित हुँदै ५ हजार रुपैयाँ प्राप्त गरे । यसैगरी अन्य बिधागत हेटौंडाका सफल तिमल्सिना र गगन सिलवाल क्रमशः उत्कृष्ट गोलरक्षक र डिफेन्डर चुनिए ।

थाहाका राजन गोले र बिशाल स्याङ्तान क्रमशः उत्कृष्ट फरवार्ड र मिडफिल्डर भए भने थाहाका प्रशिक्षक नरेन्द्र मोक्तान प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक हुन सफल भए । उनीहरुले जनही ३ हजार रुपैयाँ प्राप्त गरे । मकवानपुर जिल्ला खेलकुल विकास समितिका अध्यक्ष सानु लामाको सभाध्यक्षतामा भएको प्रतियोगिताको समापन कार्यक्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्य रहेको थियो ।