अञ्जना तामाङ/अस्मिता भट्टराई

हेटौंडाः दुई दशकअघिसम्म छोरा र छोरी बराबरीको नारा लगाउँदै छोरीलाई पनि विद्यालय पठाउन जनचेतनाका कार्यक्रम गरिन्थ्यो । अझै पनि छोरा र छोरीबीच गरिने भेदभावप्रति समाजमा प्रश्न उठ्ने गरेको छ । दुई दशक अघिको नाराले अहिले सकारात्मक संकेत देखाइरहेको छ । हिजो छोरीलाई पनि विद्यालय पठाउनुपर्छ भन्ने नाराकै कारण अहिले विद्यालयदेखि क्याम्पस तहमा छात्राको उपस्थिति बढेको छ भने विद्यालय तहमा कक्षागत रुपमा उत्कृष्ट ३ को सूचिमा पनि छात्र र छात्राबीचको अनुपात बराबरी जस्तै भएको छ ।

दुई दशकअघिसम्म साथीभाईबीच तेरो कक्षामा ‘फस्ट ब्वाइ को ?’ भनेर कुराकानी गरिन्थ्यो । अर्थात् पहिलो हुने केटा हुन्छ भन्ने मानसिकता थियो भने अहिले ‘फस्ट स्टुडेन्ट को हो ?’ भनेर सोध्ने गरिन्छ । किन कि आजभोलि छात्र र छात्रा दुवै प्रथम, द्वितीय, तृतीय हुन सक्छन् भन्ने समाजले बुझ्दै गएको छ । हेटौंडाका ३ वटा विद्यँलयको कक्षागत प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीको विवरण हेर्दा ६७ जना छात्र र ६२ जना छात्रा छन् । हेटौंडा–१ स्थित अमर मावि, हेटौंडा–२ स्थित सिद्धार्थ मावि र हेटौंडा–४ स्थित भुटनदेवी माविमा अध्ययनरत विद्यार्थीको कक्षागत विवरणलाई हेर्दा कक्षागत प्रथम हुने छात्र २६ जना छन् भने छात्रा १७ जना छन् । द्वितीय हुने छात्र १९ जना छन् भने छात्रा २४ जना छन् । यस्तै तृतीय हुने छात्र २२ छन् भने छात्रा २१ छन् ।

छात्राहरु लगनशील र अनुशासित हुनुले उत्कृष्ट ३ मा पर्नेको अनुपात बढ्दै गएको हेटौंडा–१ स्थित अमर माविकी प्रधानाध्यापक मालती उप्रेतीले जानकारी दिनुभयो । पछिल्लो समय २ नम्बर प्रदेशका विद्यार्थीहरु हेटौंडामा बसेर पढ्ने क्रम बढेको र उनीहरु पनि उत्कृष्ट ३ मा पर्ने गरेको प्रधानाध्यापक उप्रेतीको भनाइ छ । तीन वटा विद्यँलयमा प्रथम, द्वितीय र तृतीय स्थानमा रहेका १ सय २९ जना विद्यार्थी मध्ये मधेशी समुदायका ४९ जना छन् । यस्तै ३७ जना जानजाति समुदायबाट छन् भने २८ जना खस÷आर्य, ९ जना मुस्लिम तथा ६ जना दलित समुदायका छन् ।