हेटौंडाः मकवानपुर जिल्लामा आत्महत्याको घटना बढ्दै गएको छ । चालु आर्थिक वर्षको पहिलो ५ महिनामा मात्र मकवानपुरमा ३८ जनाले आत्महत्या गरेका छन् ।
आत्महत्या गरेका ३८ जनामध्ये २० जना पुरुष, १० जना महिला, ५ जना बालिका र ३ जना बालक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्याङ्कमा उल्लेख छ । १६ जना पुरुष, ४ जना महिला, २ जना बालक र ४ जना बालिकाले झुण्डिएर आत्महत्या गरेका छन् । यस्तै विष खाएर ४ जना पुरुष, ५ जना महिला एवम् एक–एक जना बालक र बालिकाले आत्महत्या गरेका छन् । एकजना महिलाले भने पानीमा हाम फालेर आत्महत्या गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।
कोरोना महामारी फैलिएयता आत्महत्या गर्ने मानिसको संख्या पनि बढ्दै गएको पाइन्छ । साना बालकदेखि युवा वृद्धसम्म सबै सामाजिक सञ्जालमा व्यस्त छन् । मान्छेहरु बन्द कोठामै सिमित हुन थालेका छन् । समाजमा घुलमिल, शारीरिक व्यायाम, खेलकुद, मनोरञ्जनलगायत कुराहरु कम गर्न थालेका छन् । भोक निन्द्राभन्दा मोबाइल प्यारा भएका छन् । जसले गर्दा मानिसहरु धेरै सोच्ने र मानसिक रोगी बन्ने गर्दछन् ।
हेटौंडा अस्पतालका मनोरोग विशेषज्ञ डा. निशा ढुंगानाले आत्महत्या मानसिक समस्या भएको जानकारी दिनुभयो । ‘कुनै मानसिक समस्या भएका र दीर्घकालीन रोगबाट ग्रसित मानिसहरुले आत्महत्याको बाटो रोज्न सक्छन्’, डा. ढुंगानाले भन्नुहुन्छ, ‘पछिल्लो समयमा साथीभाइ वा घरका आफन्तका कारण हुने तनावले पनि आत्महत्या हुने गरेको छ ।’ गरिबी, बेरोजगारी, एक्लै बस्ने, लागूऔषध, मदिरा सेवन, सम्बन्धविच्छेद आदि कारणले पनि कतिपय मानिस आत्महत्यातिर अग्रसर भइरहेको डा. ढुंगानाको भनाई छ ।
व्यापार, शिक्षालगायतका क्षेत्रमा असफल हुनाले पनि मानिसले आत्महत्या रोज्न सक्ने डा. ढुंगानाले बताउनुभयो । घरेलु हिंसाका घटनाले कतिपय मानिसलाई आत्महत्या गर्न प्रेरित गरिरहेको उहाँले जानकारी दिनुभयो । अहिले बालबालिकाहरु खेलकुद, स्वास्थ्य र मनोरञ्जनमा ध्यान नदिई मोबाइलमा मात्र व्यस्त हुनुले उनीहरुमा विभिन्न तनाव सिर्जना हुने, जिद्दीपना हुने भएकाले आफूले चाहेको कुराहरु उपलब्ध नभए मानसिक चिन्ता गर्ने र विस्तारै उनीहरुमा मानसिक समस्या उत्पन्न भई आत्महत्या रोज्नसक्ने डा. ढुंगानाले बताउनुभयो ।
कुनै व्यक्तिमा मानसिक समस्या देखा परेमा, एक्लै बस्ने, केही कुरामा डराउने, आत्तिने लक्षण देखाएमा आत्महत्या गर्ने सम्भावना बढी हुने मानसिक रोग विशेषज्ञ डा. ढुंगानाले जानकारी दिनुभयो । ‘यदि एउटा मान्छेले यसभन्दा अगाडि पनि आत्महत्या गर्न खोजेको भए उसले फेरि आत्महत्या रोज्न सक्छ’, उहाँले भन्नुभयो– ‘त्यस्तो लक्षण देखापरेका मानिसहरुसँग बसेर कुराकानी गर्ने र उनीहरुको भावनालाई कदर गर्ने गर्नुपर्दछ ।’ मानसिक समस्या देखिएकालाई मनोरोग विशेषज्ञहरुसँग परामर्श लिने र जाँच गराउनुपर्ने उहाँले बताउनुभयो ।
घर परिवारका कुनै सदस्यमा आत्महत्या गर्नसक्ने समस्या देखापरेमा उनीहरुलाई सामाजिक सञ्जालबाट टाढा राख्ने, एक्लै नछाड्ने र समाजमा घुलमिल गराउने कार्य हुनसके आत्महत्या रोकथाम गर्न सकिने डा. ढुंगानाले दावी गर्नुभयो । आफ्नो घरपरिवार, समाजका कोही मानिस आत्महत्या गर्न अग्रसर हुन थालेको शंका लागेमा टोल फ्री नम्बर ११६६ मा फोन गर्न पनि डा. ढुंगानाले आग्रह गर्नुभयो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) जयश्वर रिमालले हत्यापछि हुने आत्महत्यामा अपराधको दुबै पक्ष नरहने भएकाले अनुसन्धान प्रक्रिया जटिल हुने बताउनुभयो । आफन्तको बयान, घटनास्थलको वस्तुस्थिति, बिरलै भेटिने सुसाइड नोट वा मोबाइल फोनको विश्लेषणबाट प्रहरीले हत्याको कारणबारे शंकासम्म गर्ने डीएसपी रिमालले बताउनुभयो । मकवानपुरका कतिपय घटनामा त्यस्तो कुनै संकेत नपाइएको पनि उहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आत्महत्या न्यूनीकरणसम्बन्धी विभिन्न सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको डीएसपी रिमालले जानकारी दिनुभयो ।