हेटौंडाः नेपाली कांग्रेस बागमती प्रदेशको शनिबार सम्पन्न निर्वाचनको मतगणना अबको केहीबेरमा सुरु हुँदैछ । हेटौंडाको फरेष्ट्रि क्याम्पसमा शनिबार प्रदेश सभापति, उपसभापति, महामन्त्री, महिला तर्फ सह महामन्त्री, खुल्ला तर्फ सहमहामन्त्री लगायत सदस्य पदमा मतदान भएको थियो । प्रदेश सभापति पदमा भने आइतबार पनि दोस्रो चरणको मतदान भएको थियो । प्रदेश सभापतिमा आइतबार भएको मतदानको मतपरिणाम गएराति नै सार्वजनिक भएको थियो ।
सभापतिको मतगणना सकिएलगत्तै अब बाँकी पदाधिकारीको मतगणना गर्न लागिएको आयोजक कांग्रेस मकवापनुरका पार्टी प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिनुभयो । गएराति प्रदेश सभापतिको मतगणना फरेष्ट्रि क्याम्पसमा गरिए पनि आज अन्य पदाधिकारीको मतगणना स्थल परिवर्तन भएको छ । हेटौंडा–४ स्थित सगरमाथा पार्टी प्यालेशमा कांग्रेस बागमती प्रदेशको पदाधिकारीको मतगणना गर्न लागिएको मतदान अधिकृत रामकुमार अधिकारीले जानकारी दिनुभयो ।