फाइल तस्बिर ।

हेटौंडाः मकवानपुरमा आइतबार ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २७ जनाको पीसीआर विधिबाट परिक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको हो । ९ जनामा एन्टिजेन विधिबाट परिक्षण गर्दा भने कसैमा संक्रमण पुष्टि नभएको स्वास्थ्य कार्यालय मकावानपुरले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ५ जना रहेका छन् । यस्तै मनहरी गाउँपालिका र भीमफेदी गाउँपालिकाका समान १–१ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या १५ हजार ४ सय ९७ जना पुगेको छ । जिल्लामा अहिले ५० जना कोरोना भाइरस संक्रमणका सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ४७ जना होसआइसोलेसनमा र ३ जना संस्थागत आइसोलेसनमा उपचाररत छन् ।

जिल्लामा यसै अवधिमा ४ जनाले कोरोनालाई जितेका छन् । होम आइसोलेसन बस्ने १ जना र संस्थागत आइसोलेसनमा उपचाररत ३ जनाले कोरोनालाई जितेका हुन् । योसँगै जिल्लामा हालसम्म कोरोना जित्नेको कुल संख्या १५ हजार २ सय १९ जना पुगेका छन् ।

जिल्लामा हालसम्म कोरोना भाइरस विरुद्धको पहिलो मात्राको खोप १ लाख ८१ हजार ५ सय ३५ जनाले लगाएका छन् भने पुर्ण मात्राको खोप १ लाख ५७ हजार ९० जनाले लगाएका छन् ।