हेटौंडाः नेपाली कांग्रेस बागमती प्रदेश सभापतिको लागि भएको दोस्रो चरणको मतदान आज सकिएको छ । दोस्रो चरणको मतदानमा २०२५ मत खसेको निर्वाचन समितिले जनाएको छ । प्रदेश सभापतिको लागि देउवा पक्षका इन्द्र बानियाँ र रामचन्द्र पौडेल पक्षका जगदिश्वर नरसिंह केसीबिच प्रतिपस्पर्धा भएको थियो । दिउँसो साढे १ बजेदेखि सुरु भएको मतदान साढे ५ बजे सकिएको हो ।

आज कुल २ हजार २६ मत खसेको मतदान अधिकृत रामकुमार अधिकारीले जानकारी दिनुभयो । शनिबार भएको कांग्रेसको निर्वाचनमा इन्द्र बानिया, केसी र सिटौला पक्षका भीमसेन प्रधानले ५० प्रतिशत मत ल्याउन नसक्दा आज पुनः मतदान गर्नुपरेको थियो । आज भएको मतदानमा सिटौला पक्षका प्रधानले इन्द्र बानियाँलाई समर्थन गरेका थिए ।

मतदान सकिएलगत्तै मतदान स्थल फरेष्ट्रि क्याम्पस छिर्ने मुल गेट बन्द गरिएको छ । आज राति ८ बजेबाट मतगणना गर्न छलफल भइरहेको मतदान अधिकृत अधिकारीले बताउनुभयो । उहाँका अनुसार आज राति प्रदेश सभापतिको मत गणना गर्ने वा उपसभापति लगायत सबै कमिटीको मतगणना गर्ने छलफल भइरहेको छ ।