साहुहिक तस्बिर खिचाउँदै ।

हेटौंडाः हेटौंडा–६, गौरीटारस्थित शान्ति बहिरा तथा सुस्तश्रवण आवासीय विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक तथा खेल सामग्री सहयोग प्राप्त भएको छ । ३० औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा विभिन्न संघसंस्थाहरुले बिहीबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्यार्थीका लागि आवश्यक सामग्रीहरु प्रदान गरिएको हो ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि प्लान इन्टरनेशनल नेपालको सहयोगमा सामुदायिक विकास संस्था सीडीओ नेपाल मकवानपुरले स्कूल व्याग, विद्यालय पोशाकका साथै आवासीय विद्यार्थीका लागि ओढ्ने, ओछ्याउने तथा झुललगायतका सामग्री सहयोग गरेको छ । संस्थाले १ लाख ५० हजार रुपैयँ बाराबरको सामग्री सहयोग गर्ने कार्यक्रम संयोजक अर्जुन खड्काले जानकारी दिनुभयो । उहँले विद्यालयसँग निरन्तररुपमा जोडिएर सहयोग गर्न पाउँदा खुसी मिलेको बताउनुभयो ।

यस्तै, इस्थर बेन्जामिन स्मृति संस्था मकवानपुरले विद्यालयलाई २ वर्षसम्म सहयोग प्रदान गर्ने प्रतिबद्धतासहित कपी, कलम, पेन्सिल, इरेजरलगायतका शैक्षिक सामग्री सहयोग गरेको छ । संस्थाका सानुकान्छा घलानले विद्यालयले सहयोगका अनुरोध गरेकाले विद्यालयका सबै विद्यार्थीलाई २ वर्षसम्म पुग्ने शैक्षिक सामग्री सहयोग प्रदान गरिने जानकारी दिनुभयो ।

यसैगरी हेटौंडा उपमहानगरपालिकाअन्तर्गत् नगर खेलकुद विकास समितिले पनि विद्यार्थीहरुका लागि फुटबल, भलिबल, ब्याडमिन्टन तथा क्रिकेट खेलका सामग्री सहयोग गरेको छ । नगर खेलकुद विकास समिति हेटौंडाका अध्यक्ष चन्द्र शाहीले विद्यार्थीहरुलाई खेल सामग्री हस्तान्तरण गर्नुभएको हो । नगर खेलकुद विकास समिति सबैका लागि हो भन्ने आभाष दिलाउने गरी काम गर्ने उहँले बताउनुभएको छ ।

खेल्ने अधिकार सबैको भएकाले शारीरिकरुपमा अपाङ्गता भएपनि खेल्न सक्ने खेलहरु खेलाउनका लागि विद्यालयको अनुरोधमा सहयोग गरिएको उहँले बताउनुभयो । विद्यालयको हाताभित्र विद्यार्थीहरुले खेल्न मिल्ने गरी नगर खेलकुद विकास समितिले चौर निर्माण गरिदिने उहँले प्रतिबद्धता जनाउनुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष तथा सल्लाहकार रामप्रसाद शर्माले बागमती प्रदेशभरमै यस प्रकृतिको विद्यालय यही एउटामात्र रहेकाले विद्यालयलाई माविस्तरमा लैजानु आवश्यक रहेको बताउनुभयो । आफूहरुले निकै प्रयास गरेपनि सम्बद्ध निकायले विद्यालयको स्तरोन्नतिका लागि बेवास्ता गरेकोको जानकारी दिनुभयो ।


विद्यालयका प्रधानाध्यापक विष्णुबहादुर लामिछानेले विद्यालयका विद्यार्थीहरुलाई अध्ययन गराउन शिक्षक अपुग भएको बताउनुभयो । प्रधानाध्यापक लामिछानेसहित ३ जना शिक्षकहरु राहत दरबन्दीमा रहेको र अरु २ जना शिक्षकहरु निजी स्रोतबाट राखिएको भए पनि शिक्षक अपुग रहेको उहँको भनाई छ । यसअघि कोरोनाका कारण ३ जना निजी स्रोतका शिक्षकहरु कटौती गर्नुपरेको पनि उहँले जानकारी दिनुभयो ।

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद सुवेदीको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । विद्यालयमा हाल कक्षा १ देखि ७ सम्म अध्ययन हुने गरेको छ । विद्यालयमा कक्षा १ देखि ७ सम्म ३३ जना विद्यार्थी रहेका छन् ।