उम्मेद्वारी घोषणापछि बोल्नुहुँदै नेपाली कांग्रेसका नेता ईन्द्रबहादुर बानियाँ ।

हेटौंडाः नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत बागमती प्रदेशको प्रथम अधिवेशनमा ईन्द्रबहादुर बानियाँ नेतृत्वको प्यानल घोषणा गरिएको छ । शुक्रबार बिहान हेटौंडाको एभोकाडो होटेलमा बानियाँको प्यानल घोषणा गरिएको हो । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले बानियाँ नेतृत्वको प्यानल घोषणा गर्नुभएको हो ।

बागमती प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहनुभएका नेपाली कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँलाई नेपाली कांग्रेस बागमती प्रदेश समितिको सभापतिको उम्मेदवार घोषणा गरिएको हो । यस्तै उपसभापतिमा भक्तपुरका मदनकृष्ण श्रेष्ठ, काठमाडौंका धर्मराज गौतम, महामन्त्रीमा काठमाडौंका राजु श्रेष्ठ, धादिङका तिलक रुवाली, सहमहामन्त्रीमा सिन्धुपाल्चोकका हरिशरण श्रेष्ठ, नुवाकोटका महेन्द्र थिङ र ललितपुरकी निरु खड्कालाई उम्मेदवार बनाइएको डा. महतले जानकारी दिनुभयो ।

उम्मेद्वारी घोषणापछि ईन्द्रबहादुर बानियाँले नेपाली कांग्रेसले राणा र राजालाई फालेर माओवादीलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराउँदै संविधान बनाएपछि मुलुकको आर्थिक विकास गराउने जिम्मेवारी पूरा गर्नुपर्ने र त्यसका लागि नयाँ सक्षम नेतृत्व आफ्नो नेतृत्वमा बागमती प्रदेशमा तयार हुने दावी गर्नुभयो । बागमती प्रदेशमा सीमित स्थानीय तह र ८ वटा प्रदेश सभा सदस्य जितेको कांग्रेसलाई नेतृत्वदायी दलको रुपमा स्थापित गर्न आफू नेतृत्वको समावेशी समूह सक्षम रहेको बानियाँको भनाइ छ । नेपाली कांग्रेसलाई विपन्न, मजदुर, सर्वाहारा वर्गको पार्टीको रुपमा स्थापित गर्नु पनि आफ्नो लक्ष्य रहेको नेता बानियाँको भनाइ रहेको थियो ।

यसअघि बिहीबार साँझ जगदिश नरसिंह केसीको नेतृत्वमा संस्थापनइतर समूहले नेपाल कांग्रेस बागमती प्रदेश समितिका लागि उम्मेदवारी घोषणा गरेको थियो । केसी समूहको उपसभापतिमा मोहनबहादुर बस्नेत र राजेन्द्र बुर्लाकोटी, महामन्त्रीमा माइकल रामचन्द्र अर्याल र कञ्चन वादे श्रेष्ठको उम्मेद्वारी घोषणा गरिएको थियो । बिहीबार प्रदेश अधिवेशनको उद्घाटन कार्यक्रम सकेर निर्वाचन समितिले आज शुक्रबार १ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय तोकेको छ ।