हेटौंडाः आगामी आम निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले आजबाट मकवानपुरका ५ पालिकामा पहिलो चरणको मतदाता नामावली अद्यावधिक गर्ने कार्य सुरु गर्दैछ । मकवानपुर जिल्लाका १० पालिकामध्ये बकैया, मकवानपुरगढी, भीमफेदी, ईन्द्रसरोवर र मनहरी गाउँपालिकामा मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगबाट टोली खटिएको छ । मतदाता नामावली अद्यावधिक गर्ने टोलीले पालिकाको केन्द्रमा रहेर मतदाता नामावली अद्यावधिक गर्नेछ ।

पहिलो चरणमा ५ वटा पालिकामा १५ दिन मतदाता नामावली अद्यावधिक गरेपछि दोस्रो चरणमा बागमती, कैलाश, राक्सिराङ गाउँपालिका र थाहा नगरमा आगामी पुस ५ गतेबाट मतदाता नामावली अद्यावधिक गर्ने कार्य सुरु हुने बागमती प्रदेश निर्वाचन कार्यालयका अधिकृत गोविन्द पौडेलले जानकारी दिनुभएको छ । मतदाता नामावली अद्यावधिक गर्न हरेक पालिकामा एकजना दर्तास्थल व्यवस्थापक, एकजना दर्ता कर्मचारी, एकजना सहायक दर्ता कर्मचारी र एकजना कार्यालय सहयोगी गरी ४ जनाको समूह पठाइएको छ ।

हेटौंडा उपमहानगरपालिकाको हकमा भने निर्वाचन कार्यालय वा जिल्ला प्रशासन कार्यालयमै पुगेर मतदाता नामावली अद्यावधिक गर्न मिल्ने अधिकृत पौडेलको भनाइ छ । मतदाता नामावलीमा आफ्नो नाम समावेश गर्ने बाहेक मतदाताको ठेगाना परिवर्तन गर्न, सच्याउन भने निर्वाचन कार्यालयमै पुग्नुपर्ने छ । यस्तै अन्य जिल्लाका मतदाताले पनि मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वँचन कार्यालयमै पुग्नुपर्नेछ ।
बागमती प्रदेश निर्वाचन आयोगको कार्यालयले मतदाता नामावली अद्यावधिकका लागि खटिने कर्मचारीलाई तालिम प्रदान गरी ल्यापटप, स्टेशनरी सामग्री र दर्ता फारमसहित पठाएको छ । मतदाता नामावली अद्यावधिक गर्न नागरिकताको प्रमाणपत्र र एकप्रति नागरिकताको प्रमाणपत्रको प्रतिलिपि लिएर जानुपर्नेछ ।