बालबालिका र अन्य उमेर समूहका मानिसलाई गरिने व्यवहार फरक हुनु आवश्यक हुन्छ । उनीहरुका आवश्यकता र चाहना फरक हुने कुरा घर व्यवहारबाटै जान्नुपर्ने हो । घरमा केही भिन्न व्यवहार गरिए पनि सार्वजनिक संस्थाहरुमा समान व्यवहार हुने गरेको छ । विशेषगरी विद्यालयहरुमा सानो र ठूलो कक्षाका विद्यार्थीहरुका लागि समान व्यवहार हुने गरेको छ । असमान क्षमता र योग्यता तथा उमेर समूहलाई समान व्यवहार हुनु भनेको असमानता नै हो । आवश्यकताअनुसार समानताका लागि असमान व्यवहार जरुरी हुन्छ । त्यसमा बालबालिकाहरु पर्ने गर्दछन् । उनीहरुको शारीरिक अवस्था, क्षमता र आवश्यकताले नै भिन्न व्यवहारको माग गरेको हुन्छ । तर विद्यालयहरुमा त्यस किसिमको अवस्था बन्न सकेको छैन ।

बालबालिकाका लागि विद्यालयमा अध्ययन गर्न आवश्यक पर्ने शैक्षिक सामग्रीदेखि भौतिक अवस्थिति भिन्न हुन जरुरी छ । यसका लागि विदेशी सहयोगबाट मात्र सुधार गर्नुपर्ने हाम्रो अवस्था दुःखदायी नै हो । अभिभावक, विद्यालय परिवार तथा समाजलाई प्रशिक्षित गर्नु आवश्यक छ । प्लान इन्टरनेशनल नेपालले सामुदायिक विकास संस्था नेपालमार्फत् मकवानपुर जिल्लाका विभिन्न विद्यालयहरुमा बालमैत्री कक्षाकोठा निर्माण गराउँदै आएको छ । बालबालिकाका लागि डेस्कबेन्चको साइज फरक चाहिने कुरा अरुले नसिकाई हामीले किन जान्दैनौं भन्ने पक्षबाट समीक्षा आवश्यक छ । राज्यको नीति निर्माताले पनि सोहीअनुसारको निर्देशन गर्ने वा नीति बनाउने काम पनि भएको छैन । सामुदायिक विकास संस्था नेपालले मकवानपुरको बागमती, भीमफेदी र मनहरी गाउँपालिकाको १३ विद्यालयमा ४० वटा नमुना बालमैत्री कक्षाकोठा निर्माण गर्न थालेको छ ।

बालमैत्री एवम् सहज र प्रभावकारी सिकाईको वातावरण निर्माण गर्नेगरी कक्षाकोठामा भित्तेलेखन, सुरक्षित र न्यानो भुइँ निर्माण, चकटी, कुसन राख्ने, पिउने पानीका लागि फिल्टर राख्ने, होचो डेस्क राखिने बताइएको छ । मकवानपुरको भीमफेदी गाउँपालिकाको ५ वटा विद्यालयमा १५ वटा कक्षाकोठा, मनहरी गाउँपालिकाको ६ वटा विद्यालयका १७ वटा कक्षाकोठा र बागमती गाउँपालिकाको २ वटा विद्यालयका ८ कक्षाकोठा नमुना बालमैत्री कक्षाकोठा बन्दैछन् । यस्तो वातावरण सबै विद्यालयमा किन हुन सक्दैन ? डेस्कबेन्च बनाउँदा विद्यार्थीको उमेर समूहअनुसार बनाउनुपर्छ । पिउने पानी, न्यानो वातावरण जुनसुकै विद्यालयमा पनि आवश्यक छ । अरुले बनाइदिएर मात्र आफ्ना बालबालिकाको अधिकार थाहा पाउने हामी अभिभावकहरु नै संवेदनशील नभएको त हैन ?

कक्षाकोठाको सौहाद्र्ध र सुरक्षित वातावरणले बालबालिकाको सिकाई र व्यवहारमा सकारात्मक परिवर्तन देखिनेछ । बालबालिकालाई खेल्दै, पढ्दै र सिक्दै गर्ने वातावरण आवश्यक हुन्छ । तर सरकारी विद्यालयहरुमा यस्तो अवस्था पटक्कै छैन । केही संस्थागत विद्यालयहरुले प्रयास गरेका छन् । तर उनीहरुको प्रयास पनि शुल्क असुल्ने माध्यम बनाएको अवस्था छ । बालमैत्री कक्षाकोठा आवश्यक हुन्छ भन्ने कुरालाई कुनै संस्थाले नमुनाका रुपमा प्रयोग गर्नुपर्ने अवस्थाले नेपाली बालबालिकाको शैक्षिक अवस्थाको दृश्यलाई प्रष्ट्याएको छ । बालअधिकारको क्षेत्रमा धेरैजनाले संस्थामार्फत् काम नगरेका हैनन् । तर शैक्षिक वातावरणमा सुधारका लागि नयाँ कार्यक्रम बनाउने भन्दा दुरावस्था देखाएर योजनामात्रै बनाउने गरेको आरोप लाग्दै आएको छ । कमजोरी देखाएर योजना बनाउने नभई रचनात्मक सुधारमा सबैको सहभागिता आवश्यक छ ।