बालअधिकार समिति, श्रम कार्यालय, नेपाल प्रहरी, बालहेल्पलाइन १०९८ ले संयुक्तरुपमा सोमबार अनुगमन

हेटौंडाः बालमैत्री पालिका घोषणा गरिएको मकवानपुरको मनहरी गाउँपालिकाका बालबालिका श्रममा रहेको पाइएको छ । बालअधिकार समिति, श्रम कार्यालय, नेपाल प्रहरी, बालहेल्पलाइन १०९८ ले संयुक्तरुपमा सोमबार अनुगमन गर्दा बालबालिका श्रममा रहेको पाइएको हो । गाउँपालिकाको वडा नम्बर ६, ८, र ९ का विभिन्न होटल, ग्यारेज तथा गाडी सफा गर्ने स्थानमा बालश्रम प्रयोग भए नभएको बारेमा अनुगमन गरिएको थियो ।

बाल हेल्पलाइनको हटलाइन १०९८ मा मनहरी गाउँपालिकाका विभिन्न क्षेत्रमा रहेका व्यवसाय, होटल आदिमा बालश्रमिक प्रयोग भएको जानकारी आएपछि अनुगमन गरिएको गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले बताउनुभयो । अनुगमनका क्रममा गाउँपालिकाको वडा नम्बर ९ को चौधमाइलमा गाडी धुने काममा १२ र १३ वर्षका ४ जना बालक, वडानम्बर ८ को गुरुङ होटलमा १० वर्षीय एक जना बालक श्रममा संलग्न रहेको फेला परेको छ । सोही स्थानमा रहेको सुप्रिय होटलमा पनि एक जना १२ वर्षीया बालिका श्रममा संलग्न रहेको पाइएको छ ।

यसैगरी गाउँपालिकाको सिम्पानीस्थित मोटरसाइकल ग्यारेजमा काम गर्ने १३ र १४ वर्षीय ४ जना गरी १० जना बालक बालश्रममा संलग्न रहेको पाइएको छ । अनुगमनका क्रममा गाउँपालिकाभर १० जना बालश्रमिक फेला परेको मनहरी गाउँपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख शान्ति अधिकारीले बताउनुभयो । बालश्रमिक रहेका विभिन्न स्थानहरुमा बालहेल्पलाइनमा सूचना आएको तर अनुगमनको क्रममा फेला नपरेको सायद अनुगमन टोली आएको सूचना प्राप्त भएपछि बालश्रमिकहरुलाई लुकाईको हुनसक्ने बालहेल्पलाइन जिल्ला संयोजक झबिन्द्र ज्ञवालीले जानकारी दिनुभएको छ ।

अनुगमन गरिएका स्थानहरुका बालबालिकाको सम्बन्धमा एक हप्ताभित्रमा सबै बालबालिकाहरुलाई अभिभावकको जिम्मा लगाउने र बालबालिकालाई दिनुपर्ने पारिश्रमिक भुक्तानी गरिसक्नुपर्ने र सो को जानकारी गाउँपालिकालाई दिनुपर्ने र आइन्दा १४ वर्ष मुनिका बालबालिकाहरुलाई निकृष्ट प्रकारको बालश्रममा प्रयोग नगर्ने १४ देखि १८ उमेर वर्षसम्मका बालबालिकाहरुलाई जोखिमपूर्ण बाहेक अन्य काम लगाउनु परेमा श्रम कार्यालयको स्वीकृति लिएरमात्र लगाउने गरी सचेत बनाइएको श्रम कार्यालयका प्रतिनिधि भीमप्रसाद शर्माले बताउनुभयो । मनहरीका ९ जना र कैलाश गाउँपालिकाका १ जना गरी १० जना बालबालिका श्रममा संलग्न रहेको पाइएको छ ।