हेटौंडाः मकवानपुरका ४ जना नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा चयन भएका छन् । एमाले मकवानपुरको पार्टी इन्चार्ज रामेश्वर राना, जुनेलीमाया श्रेष्ठ, भारती पाठक र कृष्ण दाहाल केन्द्रीय सदस्यमा चुनिनुभएको हो ।
कृष्ण दाहाल खुलाबाट, भारती पाठक महिला खुलाबाट, जुनेलीमाया श्रेष्ठ जनजाति महिलाबाट र रामेश्वर राना बागमती प्रदेशबाट केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित हुनुभएको हो । मकवानपुरबाट केन्द्रीय सदस्यमा ८ जनाको दाबी रहेको थियो । एमालेको १० औं महाधिवेशनले अध्यक्ष केपी ओलीलाई पदाधिकारी चुन्ने अधिकार दिएसँगै सर्वसम्मत गर्ने भन्दै अन्य नेताहरुको नाम केन्द्रीय सदस्यको लिस्टमा अटाउन सकेन । एमाले मकवानपुरका नेता रघुनाथ खुलाल, अनन्त पौडेल, महेश बर्तौला, सुभाष ठकुरीले केन्द्रीय सदस्यमा दाबी गरेका थिए ।
मकवानपुर जिल्लाबाट एमालेको १० औं महाधिवेशनमा १९ जना महाधिवेशन प्रतिनिधि बनेर चितवन गएका थिए । मंसिर १० गते नारायणी नदीको किनारमा उद्घाटन भएको एमाले महाधिवेशनको बन्द सत्र भने ११ गते सौराहको सेभेन स्टार होटेलमा भएको थियो । सोमबार सर्वसम्मत हुन नसकेको पदहरुमा भने उम्मेदवारी दर्ता गरेर मतदान भएको छ ।