कोभिड–१९ बिरुद्धको खोप लगाउन धाँधलीसमेत भएको थियो । आफ्ना र आफन्तलाई खोप लगाएको तथा तोकिएको वर्गभन्दा पनि बाहिरकाले खोप लगाएको समाचारहरु धेरै प्रकाशित भए । खोप वितरणमा अनियमितताको आरोपमा जनप्रतिनिधिदेखि स्वास्थ्य कार्यालयका प्रमुखहरुलाई मुद्धासमेत दर्ता भएका छन् । तर अब यो खोप पर्याप्त छ, लगाउन आउनेहरुको संख्या निकै कम भएको छ । सबैले खोप पाएर सेवाग्राहीको कमी भएको हैन । तर अब जतिबेला पनि खोप पाइने भएपछि मानिसले तँछाडमछाड गर्न छोडे । अभाव छ वा कम छ भने लिनका लागि हतारो गर्ने र पर्याप्त छ भने आवश्यकता भएमा लिउँला भन्ने प्रवृत्ति छ । तर खोपजस्तो संवेदनशील विषयमा खेलबाड गर्नु हुँदैन ।
मकवानपुरमा कोभिड–१९ विरुद्धको खोप पर्याप्त मात्रामा छ । तर खोप लगाउन आउनेकोे संख्या भने निक्कै कम हुँदै गएको छ । कोभिड सकिएको वा सबैले लगाइसकेको अवस्था होइन । तर मानिसहरु किन आइरहेका छैनन् भन्ने पक्षमा ध्यान दिन आवश्यक छ । खोप पाउने नागरिकको अधिकार नै हो । त्यही अधिकारका लागि अब मानिसहरुलाई आह्वान गर्नुपर्ने अवस्था छ । मकवानपुरको भीमफेदी, राक्सिराङ र बकैया गाउँपालिकामा खोप लगाउनेको संख्यामा कमी देखिएको जिल्ला स्वास्थ्य कार्यालयको दावी छ । तर नागरिकमा खोपप्रति रुचि र सक्रियतामा कमी आयो भन्ने पक्षबाट अनुसन्धान भएको छैन । विश्वमा कोरोनाको नयाँ भेरिएन्ट फेला पर्न थालेको अवस्थामा खोप लगाउन नागरिक स्वमय् सचेत हुन जरुरी छ ।
कोरोनाविरुद्धको खोपकै कारण अहिले नेपालमा संक्रमितको संख्यामा निकै कमी आएको छ । संक्रमितको दर दुई प्रतिशतभन्दा कम हुन थालेको छ । संक्रमितको संख्या कम हुँदै गएपछि नागरिकले कोरोना जोखिम हराउँदै गएको आँकलन गरेको देखिन्छ । तर कम भएको हो, सकिएको छैन भन्ने तथ्य बुझाउन अझै सकिएको छैन । खोप लगाउनु पर्ने विषयमा नागरिकलाई जानकारी गराउनुका साथै राज्यले खोप अभियान सञ्चालन गर्नु आवश्यक छ । पर्याप्त खोप भण्डारमा छ भनेकै भरमा नागरिकको घरदैलोमा पुग्दैन । नागरिक आफैं स्वास्थ्यचौकी गएर खोप लगाउँदैनन् भने सरकारले नै घरघरमा पुगेर खोप लगाइदिने प्रबन्ध गर्नु आजको आवश्यकता हो ।
वयस्कलाई पर्याप्त खोप छ तर नागरिक उत्साही देखिएका छैनन् । १८ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि पुग्नेगरी खोप खरिद नै हुन सकेको छैन । संक्रमण दर कम हुँदै जाँदा लापर्वाह गर्ने र संक्रमण बढ्दै गएपछि आत्तिने नागरिकको बानीमा परिवर्तन हुन आवश्यक छ । आज राज्यसँग पर्याप्त खोप छ, तर लगाउने सेवाग्राही छैनन् । तर विश्वमा बढ्दै गएको नयाँ भेरिएन्ट भित्रियो भने फेरि नेपालीहरुको हालत विगतकै जस्तो हुनसक्छ । त्यसबाट जोगिने पूर्वतयारी भनेको स्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्नेदेखि खोप लगाउनु हो । तर अहिले स्वास्थ्यका मापदण्ड पालनामा अलिकति पनि सतर्कता देखिएको छैन । नागरिकको यस्तै व्यवहारले नयाँ भेरिएन्ट नभित्रिएला भन्न सकिँदैन । कोरोनाविरुद्ध सबैको सतर्कता आवश्यक छ ।