हेटौंडाः राष्ट्रिय जनगणना २०७८ को प्रमुख कार्यको रुपमा रहेको तथ्यांक संकलनको कार्य बिहीबार सकिएको छ । कात्तिक २५ गतेबाट सुरु भएको तथ्यांक संकलनको कार्य बिहीबार सकिएको हो । जनगणनाका लागि घरघर पुगेका गणकहरुले बिहीबार घरबारबिहिन भई सडकमा घुमन्ते, फिरन्ते जीवन बिताउनेहरुको तथ्यांक संकलन गरेसँगै तथ्यांक संकलनको कार्य सकिएको बागमती प्रदेश जनगणना कार्यालयका जनगणना अधिकारी राजेश दासले जानकारी दिनुभएको छ ।
मकवानपुर जिल्लामा ७ वटा स्थानीय अस्थायी जनगणना कार्यालय स्थापना गरी १४१ जना पर्यवेक्षक तथा ५६८ गणक खटाइएको थियो । मकवानपुर जिल्लाको १ लाख ७ हजारभन्दा बढी घरपरिवारमा पुगेर तथ्यांक संकलनको कार्य गरिएको बागमती प्रदेश जनगणना कार्यालयले जनाएको छ । गणकले संकलन गरेको तथ्यांक मंसिर १५ गतेसम्म स्थानीय अस्थायी जनगणना कार्यालयबाट जिल्ला तथा प्रदेश जनगणना कार्यालयमा संकलन गरिसकिने प्रदेश जनगणना अधिकारी दासको भनाइ छ ।
जिल्ला जनगणना कार्यालयले स्थानीय अस्थायी जनगणना कार्यालयबाट प्राप्त तथ्यांक केन्द्रीय तथ्यांक विभागमा पठाउनेछ । आगामी ३ महिनाभित्र केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतीजा सार्वजनिक गर्ने बताइएको छ । यस पटक ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने मूल नाराका साथ यस पटकको जनगणनाको कार्य गरिएको छ । हरेक १० बर्षमा गरिने जनगणनाको कार्यक्रमअन्तर्गत यस पटक भने घरधुरी र कृषि गणना पनि गरिएको छ । मूल जनगणना गर्नुअघि घरधुरी संख्या र घरमुलीको नामावली संकलन गरिएको थियो भने मूल जनगणनाको समयमा कृषि कर्म गर्ने, नगर्ने भनी प्रश्न सोधिएको छ ।
२०६८ सालको जनगणनाअनुसार ६८ हजार घरधुरी रहेको मकवानपुर जिल्लामा २०७८ सालमा भने १ लाख ७ हजारभन्दा बढी घरधुरी रहेको तथ्यांक गणकहरुबाट प्राप्त भएको प्रदेश जनगणना अधिकारी राजेश दासले जानकारी दिनुभयो । मकवानपुर जिल्लामा घरधुरी तथा घरमुलीको नामावाली संकलन तथा मूल गणनाको अवधिमा कुनै किसिमको समस्या नभएको दासले बताउनुभयो । कात्तिक २५ गते बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठ र बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेको तथ्यांक संकलन गरेर जनगणनाको कार्य सुरुवात गरिएको थियो ।