शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गर्नुहुँदै सामाजिक विकास मन्त्रालयका मन्त्री कुमारी मोक्तान ।

हेटौंडाः सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको आयोजनामा हेटौंडामा रहेका बालसुधार गृहलाई शैक्षिक तथा खेलकुद सामाग्री सहयोग गरेको छ । मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्वको संजाल मकवानपुरको समन्वयमा कापी, व्याटमिन्टन, भलिबल लगायतका खेलकुद तथा स्टेशनरी सामाग्री बालसुधार गृहलाई हस्तान्तरण गरिएको छ । अन्र्तराष्ट्रिय बालदिवसको अवसरमा शनिबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय बालगृहका ५४ जना बालकलाई सामाग्री हस्तान्तरण गरिएको हो ।

सामाजिक विकास मन्त्रालयका सचिव यज्ञ प्रसाद ढुङ्गेलको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा सामाजिक विकास मन्त्रालयका मन्त्री कुमारी मोक्तानको प्रमूख अतिथ्यता रहेको थियो । मन्त्री मोक्तानले बालबालिका किन र कसरी सुधार गृहमा आइरहेका छन् भन्ने कुरा यकिन गर्नुपर्ने बताउनुभयो । समाज सुधारका वाहक बालबालिका आफैँ रहेकाले सकारात्मक बाटो सरकारले निर्माण गरिने बताउनुभयो ।

बालबालिकाको भविष्य निर्माणमा अभिभावक पहिलो भएको मन्त्री मोक्तानले बताउनुभयो । अभिभावकसँगै राज्यको पनि उत्तिकै जिम्मेवार हुँदा सकेसम्म सुधार गृहसम्म बालबालिका आइपुग्न नदिन अभिभावक जिम्मेवार हुनुपर्ने बताउनुभयो । यस सामाग्रीले बालबालिकाको शैक्षिक तथा खेलकुद विकासमा सहयोग पुग्ने समेत मन्त्री मोक्तानले बताउनुभयो । शिक्षाले समाज सुधारमा सहयोग पुग्ने भएकाले बालबालिकाको शैक्षिक विकास महत्त्वपूर्ण रहेको बताउनुभयो । कार्यक्रममा सिविन नेपालका संयोजक झविन्द्र ज्ञवाली, बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज अधिकारी, सामाजिक विकास मन्त्रालयका उपसचिव रुद्रहरी भण्डारी लगायतको उपस्थिति रहेको थियो ।