समृद्ध समाज राष्ट्रिय दैनिक आजबाट प्रकाशनको ११ बर्ष पूरा गरी १२ औं बर्षमा प्रवेश गर्दैछ । हेटौंडामा दैनिक पत्रिका प्रकाशनको एउटा चरण पार भइसक्दा हामीले समृद्ध समाज दैनिक प्रकाशनको थालनी गरेका थियौं । समृद्ध समाज दैनिकलाई हामीले हाम्रो समाजको समृद्धिका लागि सूचनाको भरपर्दो स्रोतको रुपमा स्थापित गर्ने आकांक्षा राखेका थियौं । जबसम्म समाजमा सही सूचना सम्प्रेषण हुँदैन तबसम्म समृद्धिको आधार तयार हुन्न भन्ने बुझाईका साथ हामीले समृद्ध समाज निर्माणमा सही सूचनाको प्रवाह गर्ने अठोटसहित समृद्ध समाज दैनिक प्रकाशन गर्न सुरु गर्‍यौं ।

११ बर्षको अवधिमा हामीले हाम्रो समाजलाई सही दिशामा निर्देशित गर्न सक्दो प्रयास गरेका छौं । हामी बस्दै आएको समाजलाई हामीले आआफ्नो तर्फबाट के–कस्ता सकारात्मक योगदान दियौं भनी सबैले आत्मसमीक्षा गर्नु जरुरी छ । हामी पनि हाम्रो काम र कामको नतिजाका बारेमा नियमित समीक्षा गर्दै आइरहेका छौं । अहिलेको समाजले राजनीतिलाई सवैभन्दा बढी दोषी देख्छ । कर्मचारीतन्त्र दोस्रो तहको दोषीको रुपमा परिभाषित छ ।

समाजमा नबिग्रिएको कुनै क्षेत्र नै छैन । सञ्चार क्षेत्रका समस्या पनि हामी नियमित सुन्दै आएका छौं । यतिबेला हामीले हार मानिसकेका त छैनौं तर, यही स्थितिले हाम्रा लागि आवश्यक आधारभूत आवश्यकताको सुनिश्चित हुने गरी हाम्रो समाज कहिले बन्छ भनेर सोँच्न सक्ने अवस्था छैन । विश्वस्तरमा मानव विकासका सूचकांकलाई हेर्ने हो भने हामी सोहीस्तरमा पुग्ने अपेक्षा पनि गर्न सक्छौं कि सक्दैनौं भन्ने अवस्थामा छौं । सबैतिरको वेथितिको व्याख्या गर्न हामी सक्षम छैनौं ।

यस्तो पृष्ठभूमिमा हामीसँग अहिले सञ्चारको अभ्यासमा गुणस्तर वृद्धि गर्दै जाने, सञ्चारगृहलाई बलियो र व्यावसायिक पत्रकारिताको मन्दिर बनाउँदै सञ्चारकर्मी, लेखक, समीक्षक, पाठक र शुभेच्छुकहरुको मनोभावना बढाउनुपर्ने आवश्यकता छ । आम नागरिकलाई समाचार र विचारको कुशल पाठक बनाउनु सबैभन्दा चुनौतिको विषय छ । हामी जिम्मेवारीपूर्ण सञ्चारकर्मको माध्यमबाट सचेत नागरिक र सम्मुन्नत समाज निर्माणमा अग्रसर छौं, रहीरहनेछौं ।

१२ औं बर्षमा प्रवेश गर्दै गर्दा हामीलाई माया गर्नुहुने प्रिय पाठक, लेखक, सचेतक, विज्ञापनदाताप्रति सदैव आभारी रहनेछौं । पाठकले दैनिक रुपमा चुक्ता गर्नुपर्ने पत्रिकाको मूल्य र विज्ञापनदाताले विज्ञापन प्रकाशन गरेवापत भुक्तानी गर्ने मूल्यले हामी सदैव जिम्मेवार र जवाफदेहीपूर्ण पत्रकारिताको अभ्यासमा अग्रसर हुने प्रतिज्ञा गर्दै आम नागरिकले पत्रिकाको पाठक भएर हामीलाई निरन्तर हौसला प्रदान गर्ने अपेक्षा गरेका छौं ।

सुरेश श्रेष्ठ, सम्पादक, समृद्ध समाज राष्ट्रिय दैनिक, हेटौंडा