हेटौंडाः काठमाडौं गोदावरीकी एकजना विद्यार्थीले आफ्नो जन्मदिनको अवसरमा मकवानपुरको मनहरी गाउँपालिकास्थित पशुपतिनाथ माविमा अध्ययन गर्ने बालबालिकालाई शैक्षिक सामग्री सहयोग गर्नुभएको छ ।
गोदावरीकी स्थायी बासिन्दा प्रजिता घिमिरेले आफ्नो जन्नदिनको अवसर पारेर एक हजार थान कपी, पेन्सिल, डटपेनलगायत सहयोग गर्नुभएको हो । प्रजिताको आमाले बाल्यकालमा अध्ययन गरेको पशुपतिनाथ माविलाई सहयोग गर्न मनहरी गाउँपालिका आउनुभएको हो । विद्यालयका एक सय ९० जना बालबालिकालाई जनही ५ थान कपी, सोही बराबरको पेन्सिल र डटपेन वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव गौतमले जानकारी दिनुभयो । मनहरी–४ का वडाअध्यक्ष ध्रुब खड्काको प्रमुख आतिथ्यमा बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
अध्यक्ष गौतमले जन्मदिनमा बिपन्न बालबालिकालाई सहयोग गरेको भन्दै प्रजिता र उनको परिवारलाई धन्यबाद दिनुभयो । आगामी दिनमा पनि यस प्रकारको सहयोगलाई निरन्तरता दिन विद्यालय परिवारले अपेक्षा गरेको छ । केहीदिन अघि मनहरी–४ का वडासचिव बिदुर पाठकले आफ्नो जन्मदिनको अवसरमा विद्यालयका ३ जना बालबालिकालाई १० हजार रुपैयाँ सहयोग गर्नुभएको थियो । विद्यालयले जन्मदिनमा गर्ने खर्च कटौती गरी विद्यालयको कोषमा रकम जम्मा गर्न पनि सुरु गरेको अध्यक्ष गौतमले जानकारी दिनुभएको छ । हालसम्म कोषमा २५ हजार रुपैयाँ जम्मा भइसकेको छ ।