कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडा ।

हेटौंडाः नेकपा (एकीकृत समाजवादी) का स्थायी समिति सदस्य विरोध खतिवडाले आफूहरुले एकीकृत कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गरेको दावी गर्नुभएको छ । मकवानपुरको ईन्द्र सरोवर गाउँपालिकाको फाखेलमा शनिबार कार्यकर्ता भेलालाई सम्वोधन गर्नुहुँदै उहाँले आफूहरु टुटेको र फुटेको नभई एकीकृत कम्युनिष्ट आन्दोलनलाई भ्रष्टीकरणबाट जोगाउन पार्टी गठन गरिएको बताउनुभयो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री समेत रहनुभएका नेता खतिवडाले आफूहरु गफ गर्न सरकारमा नआएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘हामी गफका लागि आएका होइनौं, विगतको सरकारले गरेको विकृतिलाई हटाउँछौं, जुन काम सुरु समेत भइसकेको छ ।’ उहाँले प्रत्येक वडामा आधारभुत स्वास्थ्य चौकी र हरेक पालिकामा एउटा अस्पताल बनाउने र जनतालाई स्वास्थ्यमा सहज रुपमा पहुँच दिने गरी सरकारले योजना बनाइरहेको अवगत गराउनुभयो ।

‘विगतको सरकारले बजेट, डिपीआर र अस्पताल कहाँ बनाउने भनेर जग्गाकै सुनिश्चित नहुँदा समेत एकै दिन सबै पालिकामा अस्पताल शिलान्यास भनेर अफवाह फैलाएको थियो, हामी चाहीँ सुनिश्चिततासहित अस्पताल निर्माण सुरु गछौं’, नेता खतिवडाले भन्नुभयो । कुन्साङ लामाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एकीकृत समाजवादीको केन्द्रीय निर्वाचन आयोगका सदस्य रामचन्द्र बल, बागमती प्रदेश समिति सदस्य तथा मकवानपुर जिल्ला अध्यक्ष श्रीधर पोखरेल, प्रदेश समिति सदस्य गौतमवुद्ध लामा, इन्द्रसरोवर गाउँपालिका अध्यक्ष तथा जिल्ला कमिटीका उपसचिव जीवन लामा, जिल्ला सचिवालय सदस्य तथा स्वास्थ्य मन्त्री खतिवडाका प्रमुख स्वकीय सचिव माधव तिमल्सिना, जिल्ला सचिवालय सदस्य तथा युवा संघका जिल्ला अध्यक्ष किरणमान बल लगायतको आतिथ्य रहेको थियो ।
भेलाले कुन्साङ लामाको अध्यक्षतामा ६५ सदस्यीय नेकपा (एकीकृत समाजवादी) को गाउँपालिका कमिटी तथा विष्णु महर्जनको अध्यक्षतामा ५५ सदस्यीय युवा संघको गाउ“पालिका कमिटी गठन गरेको छ ।