एकीकृत हुने चौघडा बचत तथा ऋण सहकारी संस्था लिमिटेड र भुवेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई सम्मान गरिँदै ।

हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३ स्थित जागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेड र ईन्द्रसरोवर गाउँपालिका–१, मार्खुस्थित सृजना महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड सर्वोत्कृष्ट सहकारी घोषित भएको छ । जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरको १६ औं वार्षिक साधारणसभाको अवसरमा शनिबार जागरणलाई सर्वोत्कृष्ट मिश्रित बचत तथा ऋण सहकारी संस्था घोषित गरिएको हो भने सृजनालाई सर्वोत्कृष्ट महिला सहकारी घोषित गरिएको हो ।

संघले साधारणसभाको अवसरमा भीमफेदी गाउँपालिका–६ स्थित महिला जागृति बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी संस्थापक अध्यक्ष भगवती पुडासैनी र हेटौंडा–५ स्थित सञ्जीवनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष पूर्णबहादुर खनाललाई सहकारी अभियानकर्मीको रुपमा सम्मान गरेको छ । यस्तै संघले भीमफेदी गाउँपालिका–२ स्थित महिला एकता बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी शर्मिला ढुंगाना र हेटौंडा उपमहानगरपालिका–२ स्थित युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अमृत सापकोटालाई उत्कृष्ट सहकारी कर्मचारीको रुपमा सम्मान गरेको छ ।

साधारणसभाकै अवसरमा एकीकृत हुने चौघडा बचत तथा ऋण सहकारी संस्था लिमिटेड र भुवेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई सम्मान गरेको छ । हेटौंडा–२ स्थित प्रतिफल बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई उत्कृष्ट दैनिक कारोबार गर्ने सहकारीको रुपमा सम्मान गरेको छ । सर्वाधिक बचत गर्ने हेटौंडा–१३ स्थित महिला मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सर्वाधिक ऋण परिचालन गर्ने हेटौंडा–७ स्थित हेटौंडा बचत तथा ऋण सहकारी संस्था लिमिटेड र सर्वाधिक सेयर खरिद गर्ने हेटौंडा–१२ स्थित महिला सेवा बचत तथा ऋण सहकारी संस्थालाई सम्मान गरिएको छ ।

गाउँपालिकातर्फ सर्वाधिक बचत गर्ने भीमफेदी–६ स्थित महिला जागृति बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सर्वाधिक ऋण परिचालन गर्ने मकवानपुरगढी–२ स्थित महिला आवाज बचत तथा ऋण सहकारी संस्था लिमिटेड र सर्वाधिक सेयर खरिद गर्ने मनहरी–८ स्थित दिव्यज्योति महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई पनि सम्मान गरिएको छ । महिला मात्रै आवद्ध सहकारीमध्येबाट सर्वाधिक बचत गर्ने हेटौंडा–१५ स्थित महिला जनशक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सर्वाधिक ऋण परिचालन गर्ने भीमफेदी–४ स्थित महिला अभियान बचत तथा ऋण सहकारी संस्था लिमिटेड र सर्वाधिक सेयर खरिद गर्ने हेटौंडा–११ स्थित बागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई पनि सम्मान गरिएको छ ।

१४० वटा बचत तथा ऋण सहकारी संस्था आवद्ध संघले ४ करोड ६ लाख ५५ हजार रुपैयाँ सेयर पुँजी रहेको छ । यस्तै संघको बचत ६६ करोड ७९ लाख ७८ हजार रुपैयाँ रहेको छ भने ऋण लगानी ३३ करोड ९७ लाख ३० हजार रुपैयाँ रहेको छ । हेटौंडा–२ मा संघले बहुतल्ले कार्यालय भवन निर्माण गरिरहेको छ ।संघकी अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षता तथा मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यमा साधारणसभाको उद्घाटन कार्यक्रम भएको थियो । साधारणसभाको उद्घाटन समारोहमा संघका संस्थापक अध्यक्ष सुलोचना स्याङ्तान, निवर्तमान अध्यक्ष राधा सिन्तान, जिल्ला सहकारी संघ मकवानपुरका पूर्वअध्यक्ष बद्रिप्रसाद लम्सालको पनि आतिथ्य रहेको थियो ।