सेमीफाइनल पुगेको विनयबाबु स्मृति प्रतिष्ठानको टिम ।

हेटौंडाः हेटौंडा–१७ स्थित नेपालचौरमा जारी स्वर्गीय केशवलाल श्रेष्ठ स्मृति जिल्लास्तरीय भलिबल प्रतियोगितामा बिनयबाबु स्मृति प्रतिष्ठान थाहा नगरपालिकाको टिम प्रवेश सेमिफाइनल प्रवेश गरेको छ । हटिया स्पोर्टस् एकेडेमीको आयोजनामा बिहीबारबाट सुरु भएको प्रतियोगिताको छैठौं संस्करणमा बिनयबाबु सेमिफाइनल प्रवेश गर्ने पहिलो टिम बनेको छ ।

शुक्रबार भएको क्वाटरफाइनलको पहिलो र एकमात्र खेलमा विनयबाबुले छहारी युवा क्लबलाई २–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । शुक्रबार नै लिग चरणको ३ खेल खेलेको बिनयबाबु अपराजित रहँदै सेमिफाइनल प्रवेश गरेको छ । यसअघि समुह क मा रहेको विनयबाबुले पहिलो खेलमा कैलाश खेलकुद विकास समितिलाई २–० को सोझो सेटमा, दोस्रो खेलमा आग्रा स्पोर्टस् क्लबलाई २–१ को सेटमा र तेस्रो खेलमा सेभेन स्टार युवा क्लबलाई पनि २–१ कै सेटमा पराजित गर्दै समुह विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।

समुह क अन्तर्गत शुक्रबार नै भएको लिग चरणका बँकी खेलमा आग्राले कैलाशलाई २–० को सेटमा पराजित गर्दै आग्रा समुह उपविजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । उक्त समुहको कैलाश र सेभेन स्टार भने प्रतियोगिताबाट बाहिरिएको छ । यसैगरी समुह ख अन्तर्गत तपोवन युवा क्लब हेटौंडा–१९ ले चिउरी बगैचा भीमफेदीलाई २–१ को सेटमा पराजित गर्दा चिउरी बगैचा प्रतियोगिताबाट बाहिरिएको छ । उक्त समुहकै आरएमसी हेटौंडा–१५ लाई २–० को सोझो सेटमा पराजित गर्दै तपोवन समुह विजेता बन्दै क्वाटरफाइनल प्रवेश गरेको छ । आरएमसीले पनि उपविजेताको रुपमा क्वाटरफाइनलमा स्थान बनाएको छ ।

समुह ग अन्तर्गत लिग चरणको खेलमा छहारी युवा क्लबलाई आमभन्ज्याङ युवा क्लबले २–० को सोझो सेटमा पराजित गर्दा आमभन्ज्याङ समुह विजेता बन्दै क्वाटरफाइनल प्रवेश गरेको छ । उपविजेताको रुपमा क्वाटरफाइनल प्रवेश गरेको छहारी युवा क्लब क्वाटरफाइनलमा विनयबाबु स्मृति प्रतिष्ठानस“ग पराजित हँदै प्रतियोगिताबाट बाहिरिसकेको छ । समुह घ अन्तर्गत समुह विजेता र उपविजेताको छिनोफानोका लागि भएको खेलमा आयोजक हटियाले एभरेष्ट पुल हेटौंडा–१९ लाई २–० कै सोझो सेटमा पराजित गर्दा हटिया समुह विजेता बन्दै क्वाटरफाइनल प्रवेश गरेको छ भने एभरेष्ट पुल उपविजेता बन्दै क्वाटरफाइनल छिरेको छ ।

मकवानपुर जिल्लाका १३ टिमको सहभागितामा जारी प्रतियोगितामा शनिबार क्वाटरफाइनलका बाँकी ३ खेल र सेमिफाइनलका खेलहरु हुने आयोजकले जनाएको छ । शनिबार हुने क्वाटरफाइनलको खेलमा समुह ख विजेता तपोवनले समुह घ को उपविजेता एभरेष्टसँग प्रतिस्पर्धा गर्दा समुह ख कै उपविजेता आरएमसी र समुह घ विजेता आयोजक हटिया भिड्ने भएका छन् । यस्तै समुह क उपविजेता आग्रा र समुह ग विजेता आमभन्ज्याङबीच क्वाटरफाइनल खेल हुने हटिया स्पोर्टस् एकेडेमीका अध्यक्ष छवि सुवेदीले जानकारी दिनुभयो ।