हेटौंडाः बागमती प्रदेशमा आज २ मन्त्री नियुक्त गरिदैछ । गठबन्धनको निर्णयअनुसार नेकपा माओवादी बागमती प्रदेशको संसदीय दलको नेता शालिकराम जम्कट्टेल र नेपाली कांग्रेसका निमा लामा मन्त्री बन्दैछन् । गठबन्धन निर्णयले उनीहरुलाई मन्त्रीपरिषद्मा पठाउन लागेको कांग्रेस प्रमुख सचेतक छिरिङ दोर्जे लामाले जानकारी दिनुभयो ।
उनीहरुलाई आजै साँझ ५ बजे सपथ गराउने तयारी भएको उहाँले बताउनुभयो । बागमती प्रदेशमा अहिले मुख्यमन्त्रीसहित ४ जनाको मन्त्रीमण्डल रहेको छ । आज दुई जना मन्त्री थपिने भएका हुन् ।
यसअघि बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री बनिसकेका जम्कट्टेल पुनः मन्त्री बन्दैछन् । कानुन मन्त्रीबाट राजीनामा दिएर प्रमुख प्रतिपक्षको बेन्चमा समेत रहेको जम्कट्टेललाई कुन मन्त्रालय दिने भन्ने टुंगो लागिनसकेको सरकारका प्रवक्ता कृष्ण खनालले जानकारी दिनुभयो । कांग्रेसबाट निमा लामा भने पहिलो पटक मन्त्री बन्न लागेका हुन् ।










