हेटौंडाः यस वर्ष तिहारको अवसरमा खेलिने देउसी तथा भैलो राति ८ बजेसम्म मात्र खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले तिहारमा राति ९ बजेसम्ममात्रै देउसीभैलो खेल्न समयसीमा तोकेको हो ।
कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै राति ८ बजेपछि देउसीभैलो खेल्न नपाइने मंगलबार जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको सूचनामा जनाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालद्वारा जारी सूचनामा भनिएको छ– ‘तिहारमा खेलिने देउसी तथा भैलोजस्ता कार्यक्रमहरु कम व्यक्तिहरु भेला भई सांकेतिकरुपमा रातको ८ः०० बजेसम्म मात्र आयोजन गर्नुहुन र सोबाहेकका अन्य मेला, महोत्सव र मनोरञ्जनात्मक क्रियाकलाप सञ्चालन नगर्न, नगराउन हुन सूचित गरिन्छ ।’
कोरोना संक्रमणको जोखिम अझै यथावन नै रहेको हुँदा तिहार तथा छठलगायतका पर्वहरु जनस्वास्थ्यको मापदण्डहरु पालन गरी, गराई मनाउन पनि प्रशासनले अनुरोध गरेको छ । साथै, तिहार र छठ पर्व मनाउने क्रममाा पटाका नपड्काउन र भुईचम्पा, आतिशबाजीजस्ता प्रज्वलनशील पदार्थको प्रयोग नगर्न अनुरोध गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट जारी सूचनामा भनिएको छ– ‘प्रज्वलनशील पदार्थको प्रयोगबाट सर्वसाधारणको स्वास्थ्य एवम् सुरक्षालगायत समग्र जनजीवनमा प्रतिकूल असर पर्ने हुँदा त्यस्ता पदार्थको भण्डारण, ओसारपसार, बिक्री वितरण तथा प्रयोग गर्न पूर्णरुपमा बन्देज गरिएको छ ।’