हेटौंडाः मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तान अहिले गाउँपालिका जाँदैनन् । काठमाडौैको विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर गरेसँगै अध्यक्ष मोक्तान गाउँपालिका जान छोडेका हुन् । हाल गाउँपालिकाकी उपाध्यक्ष सुकुमाया थिङले कार्यवाहक अध्यक्षको जिम्मेवारीसमेत सम्हाल्दै आउनुभएको छ ।

गत असोज १५ गते अख्तियारले गाउँपालिका अध्यक्ष मोक्तानसहित फिलिङ्गो मिडिया हाउसका रामकुमार रिजाल, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर कुसारी, लेखापाल सुजन श्रेष्ठ, आन्तरिक लेखापरीक्षक त्रिलोक थापा मगर र सामाजिक विकास अधिकृत मोहनप्रसाद पौडेललाई भ्रष्टाचार गरेको भन्दै बिगो रकम माग दाबीसहित मुद्दा दायर गरेको थियो ।

गाउँपालिकाका अध्यक्ष मोक्तानलाई २ लाख ६० हजार ९ सय, फिलिङ्गो मिडिया हाउसलाई २ लाख ६० हजार ९ सय र प्रमुख प्रशासकीय अधिकृतलगायत अन्यलाई संयुक्त २ लाख ६० हजार ९ सय रुपैयाँ बिगो रकम माग दाबीसहित अख्यितारले मुद्दा दायर गरेको होे ।

आर्थिक वर्ष २०७५/०७६ मा युवा क्षमता विकास तालिम र आधारभूत पत्रकारिता तालिम सञ्चालन गर्दा अनियमितता भएको भन्दै अख्तियारले छानविन गर्दा कार्यक्रम सञ्चालन गरेको खर्चभन्दा २ लाख ६० हजार ९ सय बढी भुक्तानी दिएर लेनदेन भएको खुलेको थियो ।

असोज १५ मा अख्तियारले अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेसँगै गाउँपालिकाका अध्यक्ष मोक्तान गाउँपालिका पुगेका छैनन् । मुद्दा दायर भएसँगै स्वतः निलम्बन हुने भएकाले अध्यक्ष मोक्तान गाउँपालिकामा सोही दिनबाट अनुपस्थित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईंले जानकारी दिनुभयो ।

अख्तियारले गाउँपालिकालाई भ्रष्टाचार मुद्दा दर्ता भएको र अध्यक्ष पदबाट स्वतः निलम्बन हुने व्यवस्था भएकाले सोहीअनुसार व्यवस्था गर्न पठाएको पत्र कार्तिक ९ गते गाउँपालिकामा आइपुगेको छ ।
गाउँपालिकामा अध्यक्ष हुँदा राजनैतिक समन्वय गर्न सहज थियो । अहिले राजनीतिक समन्वय अभाव भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चौलागाईंको भनाई छ । गाउँपालिकाको काममा अध्यक्ष मोक्तानले अफिसिएल चासो भने देखाएका छैनन् । मुद्दाको किनारा नभएसम्म अध्यक्ष मोक्तानले गाउँपालिकाको काममा चासो नराख्ने बताएका छन् । नेकपा एमालेबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका मोक्तान एमाले विभाजन भएसँगै नेकपा एसमा गएका थिए ।