हेटौंडाः प्लान इन्टरनेशनल नेपाल र राडो नेपालको साझेदारीमा मंगलबार गल्र्स टेकओभर कार्यक्रम आयोजना भएको छ । किशोरीहरुको क्षमता अभिवृद्विका लागि गल्र्स टेकओभर कार्यक्रम भएको हो ।
हेटौंडा उपमहानगरपालिकाका उपमेयर मीनाकुमारी लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा १७ वर्षीया रोलमोडल पुनिका तिमल्सिनालाई उपमेयरमा पद हस्तान्तरण गर्नुभएको थियो । एक घण्टाका लागि उपमेयर लामाले तिमल्सिनालाई पद हस्तान्तरण गर्नुभएको हो ।
अन्तर्राष्ट्रिय बालिका दिवस तथा डिजिटल पुस्ता हाम्रो पुस्ता भन्ने नाराका साथ हरेक वर्ष टेकओभर कार्यक्रम गरिने राडो नेपालमा कार्यरत श्रृजना ब्रजाचार्यले बताउनुभयो । सार्वजनिक रुपमा पद धारण गरिरहेका व्यक्तिहरुको पदलाई किशारीहरुको क्षमता अभिवृद्विका लागि टेकओभरले सहयोग पुग्ने उहाँले बताउनुभयो । १३ वटै जिल्लालाई समेटेर कार्यक्रम गरिएको उहाँले जानकारी दिनुभयो । किशोरकिशोरी तथा युवाहरुको अर्थपूर्ण सहभागिताका साथै नैतिकरुपमा जिम्मेवार बनाउन कार्यक्रमले सहयोग पुग्ने बज्राचार्यको भनाइ छ ।
उपमेयर लामाले समाज र देशलाई परिवर्तन तथा व्यवस्थित गर्ने प्रयास गरिँदा तथा खोजिरहँदा अभियन्ताहरुले इतिहासलाई हेर्नुपर्ने बताउनुभयो । संविधानका विधि र शासनलाई ध्यान दिएरमात्र अघि बढ्नुपर्ने उहाँले बताउनुभयो । उपमेयर लामाले हेटौंडा उपमहानगरपालिका मानव बेचविखन, बालविवाह, बालहिंसाविरुद्व रहेको प्रतिवद्वता व्यक्त गर्नुभयो ।
एक घण्टाका लागि उपमेयरको पदभार ग्रहण गर्नुभएका तिमल्सिनाले बालबालिका देशका भावी कर्णधार भएकाले बालहिंसा, बालविवाह, बाल शोषण तथा बेचविखनको अन्त्य गर्न स्थानीय सरकारको अहम् भूमिका रहेको बताउनुभयो । बागमती प्रदेशको राजधानी हेटौंडाको वडा नम्बर १२, १३, १४ र १५ सबैभन्दा बढी बालविवाह गरिने क्षेत्र भएकाले न्यूनीकरणमा विशेष पहल गर्न सरकारको तत्परता रहनुपर्ने उहाँले बताउनुभयो । भौतिक विकाससँगै मानवीय विकासमा जोड दिए समाज परिवर्तनमा समेत सहज हुने तिमल्सिनाको भनाइ छ ।