हेटौंडाः बागमती प्रदेश सरकारले गत आर्थिक वर्ष २०७७/०७८ अन्तर्गत् समायोजन तथा प्रोत्साहन कार्यक्रममा विद्यालयहरुमा बस हस्तान्तरणका लागि प्राथमिकता दिएको छ । प्रदेशका विद्यालयहरुमा २६ वटा बस हस्तान्तरण गरिने कार्यक्रम रहे पनि जम्मा १६ वटामात्र बस वितरण गरिएको शिक्षा विकास निर्देशनालय बागमती प्रदेशका प्रमुख निर्देशक चन्द्रप्रसाद लुईंटेलले बताउनुभयो । प्रदेश सरकारको अनुदान प्राप्त बजेटबाट २५ लाख रुपैयाँको दरले १६ वटा बस वितरण गरिएको बताउनुभयो । प्रदेश सरकार अनुदान प्राप्त ६ करोड ५० लाख रुपैयाँ बजेट कार्यक्रमका लागि विनियोजन भएको निर्देशक लुईंटेलले बताउनुभयो ।
प्रदेशका १३ वटै जिल्लामा बस हस्तान्तरण कार्यक्रम प्राथमिकता दिँदा जम्मा ६ वटा जिल्लाका १६ वटा विद्यालयले मात्र प्रस्ताव राखिएको निर्देशक लुईंटेलले बताउनुभयो । जसअन्र्तगत् सिन्धुलीमा ६, काभ्रेपालञ्चोकमा २, मकवानपुरमा २, धादिङमा २, चितवनमा २ र सिन्धुपाल्चोकमा २ गरी १६ वटा बस वितरण गरिएको उहाँले बताउनुभयो । ७ वटा जिल्लाका विद्यालयले भने कार्यक्रम प्रस्ताव पेश नगरेको उहाँले जानकारी दिनुभयो ।
यसैगरी आर्थिक वर्ष २०७८/०७९ मा पनि ४ करोड ५० लाख रुपैयाँ बस हस्तान्तरणका लागि बजेट विनियोजन भए पनि कार्यक्रम स्वीकृत भई नसकेको बताउनुभयो । सामाजिक विकास मन्त्रालयलाई कार्यक्रम स्वीकृतका लागि पेश गरिए पनि अहिलेसम्म स्वीकृत हुन नसकेको बताउनुभयो । पहिलो चौमासिकमै बस हस्तान्तरण हुनुपर्ने भए पनि कार्यक्रम स्वीकृत नहुँदा कार्यक्रम ढिला भएको बताउनुभयो ।
मन्त्रालयले निर्देशिका संशोधन गरी कार्यक्रमलाई स्वीकृत गरिने व्यवस्था भएकाले स्वीकृतिमा ढिलाई भएको उहाँले बताउनुभयो । आर्थिक वर्षको बस हस्तान्तरण भने चैत्र मसान्तसम्म वितरण गरिने लक्ष्य भएको उहाँले बताउनुभयो । सामुदायिक विद्यालयमा बस हस्तान्तरणभन्दा पनि शिक्षक दरबन्दी अभाव भएकाले सरकारले शिक्षक दरबन्दी अनुदानमा प्राथमिकता दिनुपर्ने लुईंटेलको भनाई छ । यसवर्ष विद्यालयलाई कतिवटा बस वितरण गर्ने भन्ने विषय भने टुंगो भइनसकेको जानकारी दिनुभयो ।