फाइल तस्बिर

हेटौंडाः हेटौंडा उपमहानगरपालिका महिला फुटबल टिम उपमेयर कप राष्ट्रिय महिला लिग छनौट फुटबल प्रतियोगिताको समुह चरणबाटै बाहिरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा ललितपुर जिल्लाको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी प्रतियोगितामा समुहचरणको दोस्रो खेलमा पनि पराजित हुँदै हेटौंडा उपमहानगरपालिका पहिलो चरणबाटै बाहिरिएको हो ।

शुक्रबार बिहान भएको खेलमा तुलसीपुर उपमहानगरपालिकासँग २–० गोलअन्तरले पराजित हुँदै हेटौंडाले जारी प्रतियोगितामा लगातार दोस्रो हार व्यहोरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको ७६ औं र ७८ औं मिनेटमा तुलसीपुरकी ममता पुन मगरले गोल गर्दै टिमलाई जीत दिलाएकी हुन् । यसअघि बुधबार भएको खेलमा हेटौंडा गैंडाकोट नगरपालिकासँग १–० गोलअन्तरले पराजित भएको थियो ।

प्रतियोगितामा हेटौंडासहित ३१ पालिकाको सहभागिता रहेको छ । प्रतियोगितामा विजेता तथा उपविजेता टिमले क्रमशः ५ लाख रुपैयाँ र ३ लाख रुपैयाँ प्राप्त गर्नेछ भने दुबै टिमले राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा स्थान बनाउनेछन् ।