भैंसे–भीमफेदी सडक

हेटौंडाः हेटौंडा–भीमफेदी–काठमाडौं मार्गको भीमफेदी–कुलेखानी खण्ड ३ दिन आंशिक समय बन्द हुने भएको छ । भीमफेदी–कुलेखानी खण्डको स्तरीकरण गर्ने कार्य अन्तिम चरणमा रहेको र उक्त कार्य पूरा गर्न आंशिक बन्द गर्न लागिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभएको छ ।

बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयको आग्रहमा जिल्ला प्रशासन कार्यालय मकवानपुर र ट्राफिक प्रहरी कार्यालय मकवानपुरका अधिकारीको संयुक्त बैठकले शुक्रबार उक्त सडकखण्ड आंशिकरुपमा बन्द गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभएको छ ।

निर्माण कम्पनिको मागअनुसार निर्देशनालयले कात्तिक १३ गते शनिबारदेखि कात्तिक १५ गते सोमबारसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द गर्न सरोकारवालालाई प्रस्ताव गरेको थियो । प्रदेश सरकारले दुईखण्डमा ठेक्कामार्फत सडकको स्तरोन्नति गरिरहेको छ । उक्त सडकखण्डमा अहिले कालोपत्रे गर्ने कार्य बाँकी छ । एकतर्फी गरेर सडक सञ्चालन गर्न पनि सम्भव नदेखिएपछि सडक आंशिक रुपमा बन्द गरेरै काम गर्ने तयारी गरिएको हो ।

छोटो मार्गको रुपमा प्रयोग हुँदै आएको हेटौंडा–भीमफेदी–काठमाडौं मार्गको भीमफेदी–कुलेखानी खण्ड साँघुरो रहेकोले फराकिलो गरी स्तरीकरण गरेर दुईलेनको बनाइँदै छ । उक्त सडकखण्डको स्तरीकरण गर्ने कार्य अन्तिम चरणमा पुगेको पनि निर्देशनालयले उल्लेख गरेको छ ।

भैंसे–भीमफेदी सडकखण्डका घरटहराको मुआव्जा निर्धारण गरिँदै
यसैबीच जिल्ला प्रशासन कार्यालयले हेटौंडा–भीमफेदी–काठमाडौं मार्गको भैंसे–भीमफेदी खण्डको निर्माण कार्यलाई तीव्रता दिन त्यस क्षेत्रमा सडक विस्तारका क्रममा हटाउनु पर्ने घर, टहराको मुआव्जा निर्धारण गरिने भएको छ ।

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने मुआव्जा निर्धारण समितिले कात्तिक १४ गते आइतबार समितिको बैठक राखेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभएको छ । भैंसे–भीमफेदी सडकखण्ड निर्माणको कार्य सुरु भए पनि केही स्थानमा मुआव्जा वितरण हुन नसक्दा निर्माण कार्यले गति लिन सकेको छैन । छिट्टै मुआव्जा रकम निर्धारण गरी सडक स्तरीकरणको कार्यले गति लिने प्रमुख जिल्ला अधिकारी पाण्डेको भनाइ छ ।