बागमती प्रदेशको मुख्यमन्त्रीमा प्रदेश प्रमुख यादव चन्द्र शर्मासमक्ष आफ्नो दाबी पेश गर्दै एकीकृत समाजवादीको संसदीय दलको नेता राजेन्द्र पाण्डे


हेटौंडाः बागमती प्रदेशको रिक्त मुख्यमन्त्री पदमा एकीकृत समाजवादी बागमती प्रदेशको संसदीय दलको नेता राजेन्द्र पाण्डेले आफ्नो दाबी पेश गरेका छन् । आज दिउँसो प्रदेश प्रमुख यादव चन्द्र शार्माले मुख्यमन्त्री पदमा दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए ।

राजेन्द्र पाण्डेले नेपाली कांग्रेस २२, माओवादी २३, एकीकृत समाजवादी १३ र जसपाको १ सांसद गरेर ५९ सांसदको समर्थनमा मुख्यमन्त्रीमा प्रदेश प्रमुख यादव चन्द्र समक्ष दाबी पेश गरेका छन् । पाण्डेले प्रदेशमा स्पष्ट बहुमत पुग्ने भएकोले भोलि दिउँसो ३ बजेभित्रै सपथ सकाउन प्रदेश प्रमुख समक्ष आग्रह समेत गरेका छन् । स्वास्थ्य अवस्था समान्य नभएको भन्दै प्रदेश प्रमुख शर्माले भोलि दिउँसो १ बजे मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रिया अघि बढ्ने बताएका छन् । प्रदेश प्रमुख कार्यालयले भोलि दिउँसो ३ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न समयसिमा तोकेको थियो ।