हेटौंडाः नेपाल प्रहरीको पूर्व डिआइजी रमेश खरेलले नेताहरुले देश बनाउने आशा गर्न नसकिने बताउनुभएको छ । बिहीबार हेटौंडामा “ राष्ट्रियता, सुशासन र समुद्धि नेपाल सुशासन अभियान” को जिल्ला छलफलमा बोल्दै पूर्व डिआइजी खरेलले देशमा भष्ट्राचार न्यूनिकरण गर्न, देश बनाउन अभियान लिएर आएको बताउनुभयो । उहाँले जनताले नेताहरुको बारे, भ्रष्टाचारको विरुद्ध नबोले नेताले जे पनि गर्ने बताउनुभयो ।
२०७४ सालमा प्रति नेपाली २३ हजार ऋण थियो, अहिले त्यो ऋण बढेर ५७ हजार पुगेको उहाँले बताउनुभयो । ४ वर्षमा १० खर्बभन्दा बढी ऋण बढिसकेको भन्दै कमिसन नै कमिसन खान पुगेको उहाँले बताउनुभयो । जनताले पठाएको नेता नै कमिसनको वरिपरि घुमेको उहाँले आरोप लगाउनुभयो ।
उहाँले सुशासन युक्त राष्ट्र बनाउन हामीबाटै पहल गर्ने भन्दै कुशासन विरुद्ध जनता बोल्नुपर्ने बताउनुभयो । उहाँले हेटौंडामा आएर कसरी देश बचाउन र सुशासन कायम गरेर अघि बढ्न सकिन्छ भनेर छलफल समेत गर्नुभएको छ । यस्तै रमेश खरेलको अभियानको १४ सदस्यीय हेटौंडा उपमहानगर तदर्थ कमिटी समेत निर्माण भएको छ । केही सदस्यहरु पछि थप हुने बताइएको छ ।